अपर मुस्ताङमा यार्तुङः आधुनिकताभित्रै अटाएको पूरानो परम्परा (फोटो फिचर)

प्रकाश ढकाल
लोमान्थाङ, (उपल्लो मुस्ताङ), भदौ २१ ।
गाउँमा गाडी आयो । मान्छे टिपेर शहर लगेर छोडिदियो । घोडा खच्चड पाल्ने मान्छे भएनन् । गाडी आएपछि मान्छेको दैनिकी केही सहज भएपनि संस्कार र संस्कृति भने जोगाउनै मुश्किल प¥यो । उपल्लो मुस्ताङका प्रदेश सांसद इन्द्रधारा विष्ट सडक विकास भएपनि त्यसबाट मान्छेले फाईदा लिन नसकेको बताउँछन् ।

‘सडक आएपछि गाडीमा भरेर गाउँका उत्पादन बजार पठाउनुपर्ने हो । तर लोमान्थाङका मान्छेहरु नै गाडी चढेर शहर झरे । अहिले गाउँको कला संस्कृति संरक्षण गर्न गाह्रो परिरहेको छ,’ उनले भने, ‘१ सय ४० वटासम्म घोडा दौडाईने यार्तुङमा मुश्किलले ५०÷६० वटा मात्रै हुन्छ । गाडी आएपछि मान्छेले घोडा खच्चड पाल्न छोडे । यसको प्रभाव संस्कृतिमाथी देखियो ।’

१ सय ४४ घर रहेको लोमान्थाङमा ८०० जनसंख्या छ । धेरैजसो पोखरा र काठमाण्डौंमा बस्छन् । केही विदेशमा छन् । खानेलाउने चिन्ता नभएपछि लोमान्थाङका स्थानीय परम्परागत पेशा (कृषि र पशुपालन) गर्न छोडिसके । तर चाडबाड मनाउन भने छोडेका छैनन् । गाउँलेलाई आधुनिकताले मज्जैसँग छोएको छ तर आफ्ना पुर्खाले देखाएको बाटो छोड्न सक्दैनन् उनीहरु ।

भोटे (लोवा) भाषामा यार भनेको बर्खा र तुङ भनेको रमाईलो हो । बर्खा सकिएपछि गाउँले भेला भएर दुख विर्सिने मेला हो यार्तुङ । मुस्ताङभरीको यार्तुङमध्ये लोमान्थाङको यार्तुङ बढी सांस्कृतिक छ र धेरैले मनाउँछन् । यार्तुङ एक महिना अघि नै पात्रो हेरेर कुन दिन मनाउने भन्ने यकिन गरिन्छ । तिब्बेतियन क्यालेण्डरबाट यार्तुङको साईत हेरिन्छ ।

लामा गुरुले साईत हेरेर राजा र स्थानीयलाई जानकारी गराउने चलन छ । राजाले स्विकृती दिएपछि यार्तुङको मिति तोकिन्छ । ३ दिनको यार्तुङ चल्छ, लोमान्थाङमा–पहिलो दिन पुरुषको, दोश्रो दिन महिलाको र तेश्रो दिन चाहीँ लामाहरुको । लामा घ्याच्चो विष्टले कुलदेवता आमा झोला कर्मोको विधिपुर्वक पुजाआजा गरेपछि यार्तुङ सुरु हुन्छ ।

यार्तुङको दिन राजा विहान ८ बजेतिर दरवार पस्छन् । सबै गाउँलेहरु शुभकामना दिन दरवार पुग्छन् । गाउँका भद्र भलाद्मीका घरमा पनि शुभकामना दिनेको विहानैदेखि ताँती लाग्छ । दिउँसोको खाना खाएपछि गाउँको ४ टोल र मुखियाको टोलीबाट कम्तिमा ३÷३ जना दरबारभित्र राजालाई घोडसवारमा लिन जान्छन् । बाजागाजासहित घोडा चढेर राजा लोमान्थाङको गेट बाहिर निस्किन्छन् ।

त्यसपछि गाउँलेहरु समेत घोडा चढेर पिकनिक स्पोट (बर भन्ने हरियो घाँसे मैदान) मा पालले सजाईएको ठाउँमा पुगेर भोजभेतर सहित नाचगान गर्छन् । २ घण्टाजति रमाईलो गरेपछि गाउँ फर्किन्छन्, सबैजना । घोडामै चढाएर लोमान्थाङको पश्चिमपट्टी बनाईएको मञ्चमा राजालाई राखिन्छ । त्यही ठाउँबाट प्रतिश्पर्धीहरु घोडा दौडाउन थाल्छन् ।

कुदाङ, टोमालाङ, पोतालिङ, झ्यादाङ र छोरा टोक्पो गरी ५ समूहमा यूवाहरु बाँडिन्छन् । नयाँ संरचनाअघि लोमान्थाङको पर्खालभित्र ५ वटा समूह थिए । त्यही समूहका नाम हुन्, यार्तुङका यि प्रतिश्पर्धी । लोमान्थाङमा कामको बाँडफाँट गर्दा पनि यही ग्रुपलाई जिम्मा दिईन्छ । यार्तुङको बेला कुदाङले कालो याक बनाउँछ । टोमालाङले खसीको दायाँपटिको सपेटा ल्याउँछ ।

पोतालिङले चाँदीको ऐना ल्याउछ र झ्यादाङले गहूँको रोटी । यसलाई घोडा कुदाउने ठाउँमा निशाना बनाएर राख्छन् । घोडा कुदाउनेले ढुंगाले हानेर यो निशाना फुटाउनुपर्छ । नफुट्दासम्म घोडा कुदाईराख्नुपर्ने नियम छ । निशाना फुटाउनेले बहादुरी कमाउँछन् र गाउँभरीको स्यावासी पाईन्छ । यसरी निशाना फुटाउँदा गावैंभरीको शत्रुनास हुने र अलच्छिन हट्ने जनविश्वास छ ।

यार्तुङका बेला चम्पा (उवाको पीठोबाट बनाईएको परिकार), मासु र छ्याङ खाने चलन छ । सबै कार्यक्रम सकिएपछि राजा गाउँको बाहिरी परिक्रमा गरेर मुल गेट हुँदै दरबार पसेपछि पहिलो दिनको यार्तुङ सकिएको छ । गणतन्त्र आएपछि नेपालमा राजसंस्था छैन । तर उपल्लो मुस्ताङमा त्यसको पूरानै प्रभाव छ ।

पहिले जस्तै पूर्ण जिम्मेवारी नभएपनि उनलाई प्रमुख आमन्त्रित ब्यक्तिको रुपमा कार्यक्रममा निम्त्याईन्छ । राजा उपस्थित भएपछि त्यहाँ भेला हुने कोही पनि त्यो भन्दा ठूलो पदमा रहँदैन । सबै जनता हुन्छन् । जनप्रतिनिधि समेत सामान्य नागरिकको रुपमा भेला हुने हुन् । पर्व मनाउँदा र सांस्कृतिक राजा मान्ने कुरामा राजनीतिले पनि कुनै असर गरेको छैन ।

राजा जिग्मे सिंगे परवल विष्टले आफुलाई राजा मान्न तयार नभएपनि राजाले गर्दै आएका कामकाज भने निरन्तर गरिरहेका छन् । यार्तुङलाई उनले पर्यटनसँग जोडेर हेरेका छन् । ‘२१ औं शताब्दीमा आएर पनि यार्तुङ मनाईरहेका छौं । यो मेरा लागि खुशीको कुरो हो,’ उनले भने, ‘अहिले पयर्टन ब्यवसायमा धेरै लागेका छौं । यसको प्रोमोसनमा पनि टेवा पुग्छ कि भनेर यार्तुङलाइ निरन्तरता दिईरहेका छौं ।’

विष्ट आफै पनि पर्यटन ब्यवसायी हुन् । उनले लोमान्थाङमा रोयल मुस्ताङ रिसोर्ट सञ्चालन गर्दै आएका छन् । ‘होटल बनाएर यहाँका यूवालाई काम दिलाएर यही ठाउँमा राख्न सकिन्छ कि भन्ने आशा हो । अरुले पनि कपी गरेर यूवाहरु विदेश नजाउन भन्ने उद्देश्य छ,’ उनले भने ।

सबैजसो चाडबाडमा परम्परागत भेषभुषामा सजिएर रानी सहित उपस्थित हुन्छन्, राजा । यार्तुङको पहिलो दिन राजा निस्किए झैं दोश्रो दिन रानीको पालो आउँछ । कार्यक्रम दिनैभरी अघिल्लो दिनजस्तै चल्छन् । दोश्रो दिनको कार्यक्रममा राजा पनि उपस्थित हुन्छन् तर रानीको भूमिका बढी हुन्छ ।

केटी (महिला) हरु घोडादौडमा सहभागी नहुने भएकाले दोश्रो दिनको प्रतिश्पर्धा पनि पुरुषहरु बीचमै चल्छ । ‘महिला–पुरुष बराबर हो भन्छन् तर महिलामा आँट छैन । महिला र पुरुषमा हाम्रो समाजले खासै विभेद गरेको छैन । तर उनीहरु खुलेर आउन सक्दैनन् । डर, धक मान्छन्,’ सांसद विष्ट भन्छन्, ‘हामीले समानता गाउँबाटै थाल्नुपर्छ । महिलाहरु पनि यस्ता प्रतिश्पर्धामा आए भने समाजमा नेतृत्व गर्नेहरु बढ्छन् र समाज सजिलैसँग रुपान्तरण हुन्छ ।’

गरिवीका कारण लामो समय परम्परागत यार्तुङ चाड मनाउनै छोडे लोमान्थाङ बासीले । गाउँमा विस्तारै पर्यटक जान थाले । गाउँलेहरु पैसा कमाउन सक्ने भए । १७ बर्षयता भने निरन्तर रुपमा यार्तुङ चलिरहेको छ । ‘केही बर्ष चाडबाड नै बन्द भयो । तिजी र यार्तुङ मनाउन छोडेपछि गाउँमा जनावर मर्न थाले । खेती विग्रिन थाल्यो,’ लामा गुरु घ्याच्चोले भने, ‘पछि हामीले सल्लाह गरेर पूराना पर्व फर्कायौं । अहिले त्यस्तो समस्या छैन । सबै खुशीसाथ बसेका छन् । अचेल राम्रो भएको छ ।’

लोमान्थाङमा राजा र राजकुमार टोपीले मात्रै छुट्याउँछ । बि.सं. २०७२ सालमा मुस्ताङी राजा जिग्मे परवल विष्टको निधन भएपछि त्यहाँ नयाँ राजा चुनिएका छैनन् । राजाको छोरा नै राजा हुने चलन भएपनि राजकुमारले गणतन्त्रमा राजसंस्था अशोभनिय हुने भन्दै राजा बन्न मानिरहेका छैनन् । स्थानीयहरु चाहीँ सांस्कृतिक राजाको रुपमा रहनुपर्ने अडानमा छन् ।

यद्यपी गाउँघरमा हुने मेला महोत्सव र मुद्धा मामिलाका घटनाहरुमा राजासरह उपस्थिती जनाउँछन् । राजा र राजकुमारको पोशाक एउटै भएपनि टोपी फरक हुन्छ । दुवैको श्रीपेच हुन्छ । उनीहरुको श्रीपेच एउटा प्वाँखले मात्रै छुट्याउँछ । सेता प्वाँखसहितको चाँदी, सुन र मुगा जडित श्रीपेच हुन्छ, राजाको । राजकुमारको श्रीपेचमा त्यही एउटा सेता प्वाँख हुँदैन ।

नागरिकले राजा र राजकुमार छुट्याउन श्रीपेचको प्वाँख हेरे पुग्छ । यो श्रीपेचलाई तिब्बत, मंगोलिया र नेपालले सम्मान गरेको सुनाउँछन्, सांसद विष्ट । यद्यपी बुधबारको कार्यक्रममा भने राजाले श्रीपेच लगाएनन् । त्यसको सट्टा तिब्बेतियन राजाले श्रद्धापुर्वक पुर्खालाई दिएको टोपी लगाएर निस्किए ।