अन्नपूर्ण गाउँपालिकाको विवाद मिल्यो

पोखरा, पुस १ ।
कार्यालय ब्यवस्थापनमा विवाद उत्पन्न भएपछि बन्द रहेको अन्नपूर्ण गाउँपालिका शनिवारदेखि खुलेको छ । वडाअध्यक्ष र सरोकारवालबीच छलफल गरेर आइतबारदेखि कार्यालय सञ्चालन गर्ने सहमति जुटेको हो । शनिवारको बैठकमा पूरानै ठाउँबाट कार्यालय चलाउने सहमति भएको वडा नम्बर ६ का अध्यक्ष चित्रबहादुर गुरुङले बताए । ‘हामीबीच केही असहमति थिए । त्यो अहिले हटेको छ, उनले भने–तत्काललाई पूरानै ठाउँबाट कार्यालय चलाउने सहमति भयो । स्थायी केन्द्रका लागि पहल हुँदैछ ।’
गाउँपालिका प्रमुख युवराज कुवँरले सबैपक्षसँग सहज रुपमा कार्यालय सञ्चालन गर्ने र कसैले पनि अवरोध नगर्ने सहमति भएको बताए । उनले तत्कालका लागि भन्दा पनि दीर्घकालिन समाधानका लागि प्रश्तावित लुम्लेको माछापोखरी केन्द्रलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउन पहल गर्ने निर्णय भएको जानकारी दिए । ‘तत्कालको समस्या होईन । लुम्लेबासीलाई पनि भविष्यको चिन्ता हो, उनले भने–अस्थायी कार्यालय सहजताका हिसावले केही वरपर हुँदा गाह्रो हुँदैन । बरु स्थायी केन्द्रका लागि हामी लविङ गरिरहेका छौं ।’
उनका अनुसार दुवै पक्षलाई मिलाउन मौखिक रुपमा सहमति भएको छ । कुवँरले आँफु जनताको प्रतिनिधी भएकाले जनताकै माग र सुझावका आधारमा काम गर्ने प्रतिबद्धता जनाए । ‘जनताकै सुविधाका लागि कार्यालय सारेको हो । जनताले पूरानै ठाउँ खाजे हामी के बोल्नु, कुवँरले भने–जतिसक्दो छिटो स्थायी केन्द्र खोजेर सबै समस्या स्थायी रुपमै समाधान गर्न लाग्छौं ।’ लुम्लेबाट अस्थायी कार्यालय ढिकुरपोखरीमा सारेको भन्दै लुम्लेका स्थानीयले गाउँपालिका कार्यालयमा नै तालाबन्दी गरेका थिए । विहिबारदेखि बन्द कार्यालय शनिवार खुलेको हो ।