अन्नपूर्ण गाउँपालिकाको बजेट ५० करोड

पोखरा, असार १० ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आधा अर्व बजेट प्रश्ताव गरेको छ । आगामी आर्थिक बर्षका लागि ५० करोड ४४ लाख रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले पर्यटन र कृषि विकासलाई प्राथमिकताका साथ उठाएर बजेट विनियोजन गरेको जानकारी गराए ।

प्रश्तावित बजेटमध्ये ६ करोड रुपैयाँ चालू खर्च शीर्षकमा छ भने बाँकी सबै पूँजीगत शीर्षकमा छ । बजेटमा सरकारको सशर्त र निशर्त अनुदान, वित्तीय समानीकरण, राजश्व बाँडफाँट र अख्तियारी सारेर ल्याईएको रकम पनि समाबेश छ । गाउँपालिकाले आगामी बर्ष १ करोड १२ लाख रुपैयाँ आन्तरिक आम्दानी उठाउने लक्ष्य लिएको छ ।

आगामी बर्षका लागि कृषि, पर्यटन, खानेपानी र सडक मुख्य प्राथमिकतामा रहेको अध्यक्ष कुवँरले जानकारी दिए । ‘पर्यटन हाम्रो गाउँपालिकाको मुख्य श्रोत र आकर्षण हो । सँगै कृषिलाई जोड्ने र सडकबाट पर्यटन पूर्वाधार निर्माण थाल्ने गाउँपालिकाको लक्ष्य छ, उनले भने–एकघर एकधारा अभियानलाई प्राथमिकताका साथ यसैबर्षदेखि सुरु गर्छौं । नयाँ पदमार्ग खोज्ने काम पनि निरन्तर हुन्छ ।’

गाउँपालिकाले सडक निर्माण र स्तरोन्नतीका लागि ५ करोड भन्दा बढी रकम विनियोजन गरेको छ । यस्तै गाउँपालिका स्तरीय रिङरोड निर्माणका लागि म्याचिङ फण्ड शीर्षकमा १ करोड विनियोजन छ । गाउँपालिका वडा नम्बर ६ लुम्लेबाट प्रवेश गराएर, लान्द्रुक, घान्द्रुक, मोहोरिया, सावेत–तिखेढुंगा, वीरेठाँटी, नयाँपुल–सल्यान, भदौरे–देउराली–धारापानी हुँदै नाउडाँडा छिचोल्ने गरी रिङरोडको अवधारणा तय भएको अध्यक्ष कुवँर बताउँछन् ।

उनका अनुसार एकघर एकधारा खानेपानीको अभियान सञ्चालन गर्न म्याचिङ फण्ड मार्फत १ करोड रकम छुट्याईएको छ भने गाउँपालिका गौरवका योजनाहरु एक वडा एक उत्पादन (कृषि पशु तथा उद्योग) का लागि १ करोड विनियोजन गरिएको छ । यसका लागि सम्भाब्यता अन्ययन गर्न बाँकी रहेकोले सबैलाई समान वितरण हुनेगरी अध्ययन गरेर काम अघि बढाईउने उनले बताए । यस्तै पर्यटनका प्रवद्र्धन र विकासका लागि अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिने, पर्यटन पदमार्ग खोजी गर्ने कार्यक्रम पनि छ ।

आगामी बर्ष अन्नपूर्ण बेसक्याम्प, हिडन लेक, थामाको डाँडा, उल्लेरी मरेडाँडा र लान्द्रुक मर्दी हिमाल पदमार्गको डिपिआर तयार गरी पूर्वाधार र थप संरचना निर्माणको काम गर्ने गाउँपालिकाले जनाएको छ । कोदो महोत्सव सञ्चालन गर्ने, प्रवीण गुरुङ लोक साहित्य प्रतिष्ठान स्थापना गर्ने, उक विद्यार्थी एक फलफूल र एक घर एक फलफूल अभियान सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको छ ।