अन्नपूर्ण उक्लिँदै पूर्णीमा

पोखरा, चैत ७ ।
आरोही तथा पत्रकार पूर्णीमा श्रेष्ठले अन्नपूर्ण प्रथमको आरोहण गर्ने भएकी छिन् । शुक्रबार गण्डकी प्रदेश सरकारले श्रेष्ठलाई नेपालको झण्डा दिएर विदाई गरेको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो हस्ताक्षर सहितको राष्ट्रिय झण्डा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । ‘यो आरोहणले थप खुशी पेश गर्ने छ । सरकारले पर्यटन प्रबद्र्धन हुने अपेक्षा राखेको छ,’ उनले भने, ‘तपाईंलाई आरोहणको शुभकामना छ ।’

भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको आरोही भएको भन्दै खुशी व्यक्त गरे । ‘महिला कति शक्तिशाली हुन्छन् भन्ने यो पनि अर्को उदाहरण हो,’ बस्नेतले भने, ‘प्रयास गर्ने हो भने असम्भव केहि छैन ।’

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल लगायत उपस्थित सबैले शुभकामना दिएका थिए । अन्नपूर्ण प्रथममा हालसम्म नेपाली महिला आरोहीले सफल आरोहण गरेका छैनन् । श्रेष्ठले सफल आरोहण गरे नयाँ कीर्तिमान कायम हुनेछ । यो आरोहणमा प्रदेश सरकारले ८ लाख सहयोग गरेको छ ।