अन्नपूर्णको बजेट ५८ करोड, भोटेकुकुर संरक्षण गर्न २ लाख

प्रकाश ढकाल
पोखरा, असार १० ।
भोटेकुकुर संरक्षणको बिशेष कार्यक्रम सहित कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड १० लाख रुपैयाँ बजेट प्रश्तुत गरेको छ । चालूतर्फ ४० करोड २० लाख र पूँजीगत तर्फ १७ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नेपाल सरकार र प्रदेशको समानीकरण अनुदान सहित ३१ करोड ७३ लाख, राजश्व बाँडफाँट (संघ) ८ करोड ७६ लाख, राजश्व बाँडफाँट (प्रदेश) २९ लाख, समपुरक अनुदान (संघ) ९ करोड ७० लाख, समपुरक अनुदान (प्रदेश), १ करोड २० लाख, अघिल्लो आर्थिक बर्षबाट अख्तियारी सारेर ल्याएको ४ करोड, आन्तरिक आम्दानी २ करोड ३० लाख, गरिवसँग विश्वेश्वर कार्यक्रमको ८ लाख र एलजिसिडिपी कार्यक्रमबाट ४ लाख गरि ५८ करोड १० लाखको आयब्यय सोमबार प्रश्तुत गरिएको हो ।

अनुमानित आम्दानीबाट सबैभन्दा धेरै बिषयगत समितिलाई २१ करोड १० लाख, गाउँपालिकाको पूँजीगततर्फ १७ करोड ९० लाख, सामाजिक सुरक्षा सहितको चालू खर्चमा १८ करोड ४३ लाख, गरिवसँग विश्वेश्वर कार्यक्रममा ८ लाख, एलजिसिडिपीमा ४ लाख र कन्टेन्जेन्सीतर्फ ५५ लाख रुपैयाँ विनियोजन भएको छ ।

निकै चर्चामा आएको भोटे कुकुर संरक्षण कार्यक्रमलाई गाउँपालिकाले २ लाख रुपैयाँ विनियोजन गरेको छ । अन्नपूर्णले सबैभन्दा धेरै पूर्वाधार विकासमा लगानी गरेको छ । पूर्वाधार विकासतर्फ ५ करोड ५३ लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले सामाजिक विकासमा ३ करोड २० लाख, आर्थिक विकासमा २ करोड, वित्तिय ब्यवस्थापन र सुशासनतर्फ २५ लाख, वातावरण तथा विपद ब्यवस्थापनमा ७० लाख, समपुरक कोषमा ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

११ वटै वडाले पाउने गरि १ करोड ७७ लाख रुपैयाँ छुट्टिएको छ । गाउँपालिकाले बनाएका अधिकांश कार्यक्रम स्थानीय बालीको संरक्षण र प्रकृति संरक्षणसँग सम्बन्धित छन् । नर्सरी ब्यवस्थापन, माटो परीक्षण, कुरिलो उत्पादन, कोदो उत्पादन र प्रबद्र्धन, मठमन्दिर संरक्षण, पदमार्ग निर्माण लगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रबद्र्धनका लागि सिँढी बाटो निर्माणमा बिशेष प्राथमिकता दिएको छ ।

पदमार्ग र सिँढीबाटो बनाउनका लागि मात्रै ७५ लाख रुपैयाँ भन्दा बढी विनियोजन गरिएको अध्यक्ष यूवराज कुवँरले जानकारी दिए । ‘हामीलाई संसारले पर्यटनको दृष्टीले हेर्छ । हामीले बनाउने कार्यक्रम पनि पर्यटनमैत्री हुनुपर्छ,’ उनले भने, ‘वातावरण संरक्षण र पर्यापर्यटन केन्द्रीत बजेट बनायौं । अन्नपूर्णको शाख गिर्न नदिने गरी बजेट तथा कार्यक्रम तय गरेका छौं ।’

यस्तै, अन्नपूर्ण रिङरोड स्तरोन्नतीका लागि ४० लाख सहित अन्य सडक स्तरोन्नतीका लागि ३ करोड ६५ लाख रुपैयाँ बजेट । यो बाहेक प्रदेश सरकारबाट विनियोजन भएको ८ वटा सडकलाई ४ करोड, संघ सरकारको १० सडकमा ८ करोड १५ लाख तथा समपुरक कोष मार्फत काडे भदौरे सल्यान सडकलाई १ करोड रुपैयाँ विनियोजन भएको छ । अन्नपूर्णले आगामी बर्ष नयाँ ट्रयाक नखन्ने र भएकै बाटोलाई स्तरोन्नती गर्ने नीति लिएको थियो ।

पूर्वाधारतर्फका कार्यक्रममा ५ लाख भन्दा कम रकम विनियोजन नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधकृत शेषकान्त पौडेलले बताए । ‘सकेसम्म ठूला र एकै बर्ष सक्ने कार्यक्रममा पैसा छ । साना कार्यक्रममा थोरै रकम विनियोजन गर्दा योजना नै दीगो भएन,’ उनले भने, ‘अव ठूला आयोजना सञ्चालन गर्ने र बढी लाभ हुने कार्यक्रममा गाउँपालिका केन्द्रीत भएको छ ।’

गाउँपालिकाले खानेपानीलाई पनि प्रमुख प्राथमिकताका साथ बजेट छुट्याएको छ । एक घर एक धारा र मुल संरक्षण तथा खानेपानी विस्तारका लागि २ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा, स्वास्थ्य, सिञ्चाईं, अर्गानीक उत्पादनका क्षेत्र पनि बजेटको प्राथमिकतामा परेका छन् । बजेट विनियोजनका लागि बिषयगत समिति गठन गरेर सोही समितिको सिफारिसको आधारमा कार्यक्रम बनाईएको अध्यक्ष कुवँरले जानकारी दिए ।