अनुमतिविना चलेको भन्दै लेखनाथको शिलशिला बोर्डिङ नचलाउन अन्तरिम आदेश

पोखरा, साउन २३ ।
पोखरा महानगरपािलका ३१ बेगनासस्थित शिलशिला बोर्डिङ स्कुलको नाममा अन्तरिम आदेश जारी भएको छ । शिलशिला स्कुलले अनमति प्राप्त गरी सञ्चालन भएको कुनैपनि संस्थागत विद्यालय नभएको भन्दै सोमबार उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । निवेदक विक्रम सुवेदी र तोलाकान्त न्यौपानेले रिट दायर गरेका थिए ।

निवेदकको तर्फबाट अधिबक्ता द्धय कमलप्रसाद अर्याल र ठाकुरप्रसाद बरालले बहस गरेका थिए । आदेशमा भनिएको छ–‘साउन २७ सम्म उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम शिलशिला बोर्डिङ स्कुलको नाउँबाट सञ्चालन नगर्नु–नगराउनु भनी विपक्षीमध्येको शिलशिला बोर्डिङ स्कुलका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।’

माछापच्छ्रे गाउँपालिका ३ घाचोकमा कक्षा ३ सम्म सञ्चालन अनुमति पाएको हिमालय बोर्डिङ स्कुलको नाम परिवर्तन गरी शिलशिलाको नाममा विद्यालय सञ्चालनको अनुमति मागिएको थियो । २०७२ बाट हिमालय बोर्डिङ स्कुल सञ्चालनमा नरहेको जिकिर गर्दै रिट दायर गरिएको बताईएको छ ।

पोखरा महानरपालिकाले साउन ८ मा विद्यालय स्थानान्तरण गरी कक्षा ५ सम्म चलाउने अनुमति दिएपछि हाल विनिता कोइरालाले शिलशिला बोर्डिङ स्कुल सञ्चालन गर्दै आएकी छिन् । यो नामको स्कुल हालसम्म साविक जिल्ला विकास समिति र हालको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा दर्ता नभएको जिकिर गरेर रिट हालिएको हो ।