अनुभवी ड्राईभर नभए संस्था दुर्घटनामा पर्छ–प्रजु (अन्तरबार्ता)

पोखरा, भदौ २९ ।
रवीन्द्रबहादुर प्रजु, पोखराका निकै पूराना र अनुभवी ब्यवसायी हुन् । ब्यापार ब्यवसायमा उनको चौंथो पुस्ता चलिरहेको छ । बराजुको पालादेखि ब्यवसाय थालेको प्रजु परिवारले आफ्नो सीपलाई छोड्न सकेन, बरु उचाईमा पुर्याउने काम गरिरह्यो । निकै लामो अनुभव सहित प्रजु उद्योग बाणिज्य संघमा निरन्तर सेवारत छन् ।

१३ बर्षसम्म कार्यसमितिका विभिन्न पदमा बसेर काम गरिसकेका प्रजु अहिले नेतृत्वमा प्रतिश्पर्धीको रुपमा उभिएका छन् । आफ्नो नेतृत्वमा लोकतान्त्रिक प्यानल घोषणा गरेर चुनावी मैदानमा ओर्लिएका प्रजुले मतदातालाई कति रिझाउन सक्लान्, त्यो नतिजाकै दिन निर्णय हुनेछ । यद्यपी निरन्तर मतदातासँग भेट्ने र उनीहरुलाई रिझाउने काममा प्रजु प्यानल लागिरहेकै छ । अध्यक्षका दावेदार रवीन्द्रबहादुर प्रजुसँग हाम्रा सम्पादक प्रकाश ढकालले कुराकानी गरेका छन् । प्रश्तुत छ, सोही कुराकानी–

चुनावी माहोल कस्तो भैरहेको छ ? मतदाता के भन्छन् ?

मतदाताहरु चुनावको दिन कुरेर बसिरहनुभएको छ । म र मेरो प्यानललाई मतदान गर्न वहाँहरु आतुर हुनुुहुन्छ । भेटका क्रममा हामी वहाँहरुसँग आसिर्वाद पनि लिँदै हिडिरहेका छौं । सँगै ब्यवसायिका पिर मर्का र समस्याहरुलाई नजिकबाट बुझ्ने मौका पाएका छौं । हुन त म आँफै पनि पूरानो ब्यवसायी हो, ब्यवसायका समस्या धेरै हदसम्म म आँफैपनि बुझ्छु । अहिले चाहीँ उद्योग बाणिज्य संघको चुनावमा पूराना उम्मेदवारले गरेका बाचाहरु पूरा नगरेको गुनासो हामीले सुन्नुपरेको छ । त्यो स्वभाविक पनि हो, तर यस्ता समस्या आगामी दिनमा उम्मेदवार बन्नेहरुले सुन्नुपर्ने छैन । किनकी प्रजुको नेतृत्वमा बनेको यो समूहले त्यस्ता समस्या समाधान गर्छ र नयाँ उचाईमा संघलाई पु¥याउने छ ।

चुनाव जित्ने आधार बनेका छन् ?

तपाईंलाई एउटा उदाहरण दिउँ, अनुभवी र सिकारु ड्राईभर काठमाण्डौं जाने भनेर बसपार्कमा राख्नुस् । अनि सोध्नुस् कुन बसमा चढ्नुहुन्छ भनेर । यात्रुले कुन बस रोज्छन् ? सिकारुलाई रोज्नु त हुँदैन नि । जिम्मेवार ब्यवसायीहरुले बुझ्नुभएको छ, मेरो अनुभव । मैले संघलाई सही गन्तब्यमा पु¥याउँछु भन्ने विश्वास वहाँहरुलाई भैसकेको छ । ब्यवसायीको विश्वास पाएपछि त नजित्ने कुरै भएन । मेरो आधार नै उद्योगी ब्यवसायीहरु हुनुहुन्छ ।

उद्योग बाणिज्य संघमा तपाईंको प्यानलले नै राजनीति छिराएको आरोप विपक्षीको छ नि, के भन्नुहुन्छ ?

बर्षौ उद्योग बाणिज्य संघमा सँगसँगै हिड्दा राजनीति भएन । अहिले नेतृत्वमा आकांक्षा राख्दा र दुई फ्याक्टर हुँदा कसरी राजनीति हुन्छ ? म कसरी एकाएक राजनीतिक कार्यकर्ता भए ? वहाँहरु राजनीति गर्दिन भन्नुहुन्छ तर आफुँचाहीँ राजनीतिको चोलो भिरेर हामीलाई टोपी गुथाउने प्रयास गर्दै हुनुहुन्छ । राजनीतिसँग अछुत कोही छैन, तर राजनीति गर्नकै लागि उद्योग बाणिज्य संघमा आउनुपर्ने बाध्यता हामीलाई छैन, वहाँहरुलाई जस्तो ।
वहाँहरुकै अग्रसरतामा गठन भएको राष्ट्रिय बाणिज्य संघ हेर्नुस् । पार्टीका नेताहरुको फोटो टाँसेर ब्यानर झुण्डाउँदै हिड्नुहुन्छ र भन्नुहुन्छ हामी उद्योग बाणिज्य संघको समानान्तर समिति हौं । काँग्रेसको यस्तो संस्था एउटा मात्रै देखाईदिनुभयो भने राजनीतिको आरोप भोग्न म तयार छु । अर्को कुरा राष्ट्रिय बाणिज्य संघमा सदस्य नभएको मान्छे उद्योग बाणिज्य संघको चुनावमा उम्मेदवार बन्न नपाउने कुरा पनि बाहिर सुनिएको छ । त्यो वहाँहरुको निजी कुरा भए तर आफुँ राजनीतिको अन्धभक्त भएर अर्कालाई जवरजस्ती पगरी गुथाईदिनु राम्रो भएन ।

त्यसो भए वडाध्यक्ष भैसकेको मान्छे जनताको काम गर्न छोडेर उद्योग वाणिज्य संघमा आउनुपर्ने किन ?

मलाई सँधै सबैले एउटै प्रश्न सोध्नुहुन्छ, म यसलाई आत्मसात गर्छु पनि । तर वडाध्यक्ष भनेको के हो ? जनताको सेवक होईन ? सेवा गर्ने मान्छेलाई समाजसेवाको पनि तारबार हुन्छ ? तँ यो गाउँमा सेवा गर तँ यो गाउँमा सेवा नगर भन्ने त हुँदैन होला नि । हिजोसम्म वडाध्यक्षको भूमिकामा जनताको सेवा गर्दै आएको थिएँ, अहिले ब्यवसायीको सेवा पनि थपिएको छ । कुरा यत्ति हो, यसमा राजनीति जोड्नुपर्ने कारण छैन ।

रह्यो, उद्योग बाणिज्य संघमा किन आउनुभयो भन्ने प्रश्न । तपाईंको कुरा सही हो, मैले दुई दशकदेखि उद्योग बाणिज्य संघलाई नजिकबाट चिनेको छु । १३ बर्षसम्म त कार्यसमितिभित्रै बसेर काम गर्ने अवसर पाएँ । ब्यवसायीका समस्याहरु बुझेको छु । यो अवधीमा धेरै पक्षसँग घुलमिल हुने र काम गर्ने अवसर पाएको छु, सर्वप्रथम मेरा अग्रजहरु प्रति धन्यवाद छ । र त्यही अनुभवका आधारमा ब्यवसायीको समस्या समाधान गर्दै उद्योग बाणिज्य संघको उचाई बढाउन मेरो उम्मेदवारी हो । म मेरो प्रणमा दृढ छु ।

यति भनेर मात्रै मतदाताले भोट हाल्छन् त ?

शुद्ध ब्यवसायमा लागेको म चौंथो पुस्तामा छु । म अहिले ब्यवसायसँगै सामाजिक कार्यकर्ताको रुपमा काम गरिरहेको छु । मेरो विगत तपाईंले पनि हेर्न सक्नुहुन्छ, पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने कुरा भयो । त्यतिबेला म उपमहासचिवमा कार्यरत थिएँ । हाम्रै नेतृत्वमा ४२ दिनसम्म अनसन बसेका हौं, पोखराका हरेक विकास निर्माणमा नजिक भएर काम गर्ने अवसर पाएको छु । उद्योग बाणिज्य संघका धेरै कार्यक्रमहरु मेरै संयोजकत्वमा सफल भएका छन् ।

तत्कालिन पोखरा उपमहानगरपालिका हुँदा पिपिपि (सार्वजनिक निजी साझेदारी) मोडलमा उद्योग बाणिज्यसंघसँग साझेदारीका कार्यक्रम सञ्चालन गरिएको थियो । त्यतिबेला म आँफै कोषाध्यक्ष थिएँ र त्यसको नेतृत्व गर्ने अवसर पाएँ । महासचिव हुँदा बन्द सदाका लागि बन्द गरौं भन्ने अभियानको नेतृत्व गरें । गुजरातका ब्यवसायीसँग अन्तरक्रिया भयो ।

बरिष्ठ उपाध्यक्षमा निर्वाचित भैसकेपछि पनि मैले गरेका धेरै कामहरु छन् । पोखराको खानेपानी शुद्धीकरणका कुरा हामीले नै थालेका हौं । अहिले यो सफल हुँदैछ । जाईकासँग मिलेर खानेपानी सहज बनाउने आयोजना ल्याउँदा हामी सँगै थियौं । यहाँ मैले भनेर भनिरहँदा ब्यवसायी साथीहरुले के बुझ्नु जरुरी छ भने उद्योग बाणिज्य संघका कामहरु समूहमा हुन्छन् । म आफै पनि टीममा विश्वास गर्ने मान्छे । म त्यही समूह बनाउने तयारीमा छु । आशा छ, मतदाताले त्यो अवसर दिनुहुनेछ ।

ब्यवसायीका समस्या तपाईंहरु चुनावका बेला बुझ्दै हिड्नुहुन्छ तर चुनाव जितेपछि ब्यवसायीका घरमा फर्केरै जाँदैनन् भन्ने गुनासो पनि धेरै छ । तपाईंले पनि त्यस्तै गर्नु हुन्छ कि ?

हुनत सबैजसो ब्यवसायीका आफ्नै बस्तुगत संघहरु छन् । सामान्य समस्या त्यहीँबाट निराकरण हुन्छ । ठूला समस्या आए त्यसलाई सम्बोधन गर्न हामीले हेल्प डेस्क राख्यौं । ब्यवसायीलाई वीमाको ब्यवस्था गरेका थियौं यद्यपी विशेष कारणले यो लागू हुन सकेन । ब्यवसायीका मर्का बुझ्न र सम्बोधन गर्नकै लागि भलाई कोष पनि बनाएका छौं । यसलाई चुस्त र पारदर्शी बनाउँदै ब्यवसायीको हितमा लगानी गर्ने मेरो दायित्व छ । धेरै कुरा गर्नुभन्दा पनि मेरो मुख्य एजेण्डा नै पोखरा उद्योग बाणिज्य संघको सदस्य हुँदा त्यसबाट गर्व महशुस गराउने काम हामी गर्छौं त्यो मेरो प्यानलले गर्छ ।

पोखरा उद्योग बाणिज्य संघको नेतृत्व निकै फितलो बन्दै गएको पूर्व अध्यक्षहरु बताउँछन् नि, तपाईंलाई त्यस्तो लाग्दैन ?

नेतृत्व तहमा म पनि रहें । केही कमी कमजोरी म पनि स्विकार गर्छु । परिस्थिती अनुसार पोखरा उद्योग बाणिज्य संघ चल्न नसकेकै हो । हिजोको कुरा छोड्दिउँ, पूर्व अध्यक्षहरुले चिन्ता गर्नु भएको छ र मेरो नेतृत्वमा जुन विश्वास गर्नुभएको छ म सबै राम्रा कुरालाई आत्मसात गर्दै वहाँहरुको चिन्ता पनि हटाउने प्रयास गर्छु । पूर्व अध्यक्ष र विज्ञहरुसँग बसेर एउटा योजना बनाउँछु र त्यही रोडम्यापका आधारमा काम थाल्छु । तपार्इंहरु सबैले मेरो नेतृत्वमा केही परिवर्तन अवश्य महशुस गर्नुहुनेछ ।