अनलाईन शपिङ–आईफोन भनेर सावुन बेचेपछि (घटना विवरण सहित)

काठमाण्डौं, माघ २२ ।
आजभोलि अनलाइन शपिङको जमाना छ । किनमेलको लागि बाहिर जाँदा समयको बर्बाद र शारीरिक कष्ट पनि हुने भएकाले नेपालमा पनि अनलाइनमार्फत् शपिङ गर्नेहरुको संख्या बढ्दै गएको छ । घरमै बसीबसी अर्डर गरेको सामान घरमै आइपुग्छ भने किन घुम्नु बजार–बजार ? यस्तै सोचेर एक व्यक्तिले अनलाइनमार्फत् आईफोन अर्डर गरे । तर घरमा डेलिभरी भयो लुगाधुने साबुन । यस्तो घटना नेपालमा भएको भने होइन । भारतको मुम्बईमा भएको हो । २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले अनलाइन शपिङ साइट फ्लिपकार्ट मार्फत् आइफोन–८ अर्डर गरेका थिए । त्यसको लागि पैसा पनि अनलाइनमार्फत् नै भुक्तानी गरे । तर, घरमा आइदियो आइफोनको सट्टा लुगा धुने साबुन ।
तबरेज मेहबुब नाग्रलीका अनुसार उनले आईफोन(८ को लागि ५५ हजार रुपैयाँ अनलाइनमार्फत् नै भुक्तानी गरेका थिए । तर जनवरी २२ तारिकमा पानभेलस्थित निवासमा डिटर्जेन्ट साबुन डेलिभरी भएको दावी उनको छ । उनले आफूलाई ठगेको भन्दै फ्लिपकार्ट्विरुद्ध मुम्बईको बिकुला प्रहरीमा उजुरी दिएका छन् । बिकुला प्रहरी स्टेशनका वरिष्ठ प्रहरी निरीक्षक अविनाश शिंगटेले भनेका छन्, ‘फ्लिपकार्टले धोका दिएको र अपराध गरेको भन्दै उजुरी दर्ता गराएका छन् ।’ फ्लिपकार्टका प्रवक्ताले भने यस विषयमा अनुसन्धान गरिरहेको भारतीय समाचार एजेन्सी पीटीआईलाई बताएका छन् ।