अध्यक्षले एकलौटी गरेको भन्दै नेविसंघमा तनाव सुरु

काठमाण्डौं, असार २३ ।
अध्यक्षले पदाधिकारी र केन्द्रिय सदस्य पदमा एकलौटी नियुक्ती दिएको भन्दै नेविसंघ भित्रको विवाद पुनः सुरु भएको छ । महामन्त्री कुन्दन समूहले पछिल्ला निर्णयप्रति असहमति जनाउँदै अध्यक्षको विरोध गरे । अध्यक्ष नैनसिंह महरले पदाधिकारी तथा केन्द्रीय सदःयमा मनोनयन गर्दा एकलौटी ढंगले गरेको असन्तुष्ट पक्षको आरोप छ ।

अध्यक्ष महरले उपाध्यक्षमा नीलकण्ठ रिजाल र कृष्ण बस्नेतलाई मनोनयन गरेका छन् भने सहमहामन्त्रीमा महेश्वरी कुँवर र बद्री मुडभरीलाई मनोनयन गर्दा अन्य पदमा पनि एकलौटी ढंगले मनोनयन गर्ने काम भएको काफ्लेसहितका असन्तुष्ट समूहको आरोप छ ।

संगठनको १२ औं महाधिवेशन सुनिश्चितताको लागि आफूहरुले पटक पटक गर्दै आएको पहल र प्रयासलाई अध्यक्षले बिथोल्ने प्रयास गरेको महामन्त्री काफ्लेले आरोप लगाएका छन् । यसैसन्दर्भमा महामन्त्री काफ्लेसहित उपाध्यक्ष प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारीले एक संयुक्त वक्तब्य जारी गरी केन्द्रीय समितिमा बहुमत पदाधिकारी एवम् सदस्यहरु संगठनलाई विधि र विधानसम्मत अगाडि बढाउन तथा समयमै महाधिवेशन सम्पन्न गराउन लागिपरेको भएपनि अध्यक्षको गतिविधिबाट वातावरण विग्रने अवस्था रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा सहमति र समझदारी बिना अध्यक्षबाट गरिएका सबै मनोनयन महाधिवेशन नगराउने उद्देश्यबाट प्रेरित रहेको भन्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिइएको छ । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले पनि अध्यक्षको कार्यशैली विरुद्ध आफूहरु एकजुट भएर अघि बढ्ने भन्दै १२ औं महाधिवेशन नगराउनका लागि भएका सबैखाले निर्णयका विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।

अध्यक्षको कार्यशैलीविरुद्ध काफ्ले समूहले समानान्तर रुपमा संगठन सञ्चालन गर्दै आएको छ । केहि महिना अघिमात्रै बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै काफ्लेले बाल्मिकी क्याम्पसमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर, सो बैठक पार्टीको हस्तक्षेपपछि रोकिएको थियो ।