अधिनायकबाद भन्दा निर्मम ओलिवाद आएको पत्तै पाएनौं–सांसद खड्का

पोखरा, भदौ १८ ।
हाम्रो संस्कृति, सभ्यता र धर्मग्रन्थले महिलालाई देवी मान्न सिकायो हामीलाई। भोक लाग्दा अन्नपूर्ण, ज्ञान चाहिँदा सरस्वती, धनमाग्दा लक्ष्मी र शक्ति चाहिँदा दुर्गा गुहार्ने अद्वितीय परम्परामा हुर्केको नेपाली समाज अहिले फोटोको देवी पुज्ने र घरको देवी चुट्ने विनाशकारी मार्गतिर अग्रसर भइरहको छ ।

छोरीलाई भ्रुणमै हत्या गरिदिने, जिउँदै जलाउने, एसिड हाल्ने, जस्ता निन्दनीय घटना पश्चात साढे दुई वर्षकी बालिका देखि ७६ वर्षकी हजुरआमा समेत बलात्कारको शिकार बनिरहेको घटना कहालीलाग्दो रूपमा बढिरहेका छन् । यही क्रममा १३ वर्षीय बालिका निर्मला पन्तको कञ्चनपुरमा बलात्कारपछि हत्या भयो। संघीय सरकारबाहेक सम्पूर्ण देश स्तब्ध, दुखित र शोकाकुल बन्यो ।

हत्याकाण्डका दोषीलाई कानुनी कठघरामा उभ्याउनुको साटो पीडित परिवारलाई मानसिक यातना दिने, गलत किटानी जाहेरी गर्न बाध्य पार्न खोज्ने प्रयास भत्र्सनापूर्ण छ । पालो पालो गरेर तीन जना मानसिक बिरामीलाई बिना प्रमाण अपराधि सावित गराउन सम्पूर्ण राज्य संयन्त्र नै परिचालित हुनु झन निन्दनीय प्रयत्न थियो ।

सभामुख महोदय,

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्टको सरकार आयो भने रून पनि पाइँदैन भन्नुभएको थियो । हाम्रो नेताको अभिव्यक्तिले शालिनताको लक्ष्मणरेखा नाघेको जस्तो हामीलाई पनि लागेको थियो । तर, पुष्टी हुँदैछ कति दुरदर्शी रहेछन् हाम्रा नेता, खोइँ रून पाइएको नेकपाको राज्यमा ?

बहिनी बलात्कृत भइन्, छोरी मारिइन् भनेर शान्तिपूर्ण तरिकाले न्याय माग्दै सडकमा रूँदै निस्केका नागरिमाथि बर्बर दमन गरेको छ यो सरकारले । लाठीचार्ज र अश्रु ग्यासले सरकारको दमनतृष्णा मेटिएन। गोलीको वर्षा गरेर दुई दर्जनभन्दा बढीलाई घाइते बनाउँदै एक नाबालक सन्नी खुन्नाको हत्या समेत र्गयो सरकारले ।

अझ बिडम्बना त के भने सभामुख महोदय, लोकतन्त्रका लागि १४ वर्ष जेल बसेका सम्मानीय व्यक्ति केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला १४ वर्षीय बालकको छातीमा गोली हानेर मारिनु अकल्पनीय छ। बालकको शरीरसँगसँगै सम्माननीय प्रधानमन्त्री केपी ओलीको त्याग बलिदान, संघर्ष र राष्ट्र अनि जनताप्रतिको निष्ठा पनि त्यही चितामा जलेर खरानी भयो । इमान्दारिताका साथ भन्नुपर्छ बिपीपछि नेपाली जनताले बडा सम्मानका साथ विश्वास गरेका नेता हुन् केपी ओली ।

बिपीलाई काम गर्न दिइएन, केपी ओलीले गर्छन्, हाम्रो र राष्ट्रको मुहार फेर्छन्, नेपाललाई समृद्ध बनाउँदै जनतालाई सुखी बनाउँछन् भने जनताले । यसैकारण सूर्य र हँसिया हथौडामा छाप लागेको मतपत्रको बाकस बोकेको गाडी टायर पन्चर हुने गरी मत दिए जनताले । कम्युनिष्टलाई सफलता प्राप्त भयो। कृतघ्नताको पनि हद हुन्छ सभामुख महोदय। प्रतिफल स्वरूप आज केपी ओली सरकार जनताको जीवन नै पन्चर गरेर गुन तिरिरहेको छ ।

राज्यले कर्मचारी पठाएन, संघीयता नै धरापमा पार्न थाले र प्रदेश, स्थानीय सरकारहरू रूवाबासी गरिरहेका छन् । बेरोजगारलाई रोजगार दिन्छु नभए भत्ता दिन्छु भन्ने नेकपा नेतृत्वमा रहेको अधिकांश स्थानीय सरकार वर्षौंदेखि कार्यरत सामाजिक परिचालकलाई बहाली गर्न र समायोजन गर्न अस्वीकार गरिरहेका छन् । यसै सन्दर्भमा रोजीरोटी खोसिएको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका दिदीबहिनीहरूमाथिको दमनलाई बर्बरताको निरन्तरता नै मान्नुपर्छ । पुरूष प्रहरीले महिलाहरूको चुल्ठो समातेर तानेको, बुटले हानेको, हातपात गर्न खोजेको मात्र हैन गर्भवती महिलाको कोखमा लठ्ठीले घोच्दै गरेको दर्दनाक दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

सभामुख महोदय, राष्ट्र र राष्ट्रियताको नाममा इदि अमिनको सरकारले युगान्डामा गरेको नरसंहार, इश्लामको नाममा औरंगजेबको सरकारले दिल्ली, आग्रा, सारजहाँपुरमा गरेको हिन्दुहरूको कत्लेआम, रक्तशुद्धता र जातीय गौरवमो नाममा हिटलरले जर्मनी, बेल्जियम हंगेरीमा यहुदीहरू माथि गरेको बर्बर दमनले इतिहास कलंकित बनेको थियो । आज ’समृद्ध नेपाल सुखी नेपाली’को आवरण ओढेर महिलाको कोखमा लाठी घोचेर पेटमै हत्या गर्न खोज्ने, बलात्कारीलाई संरक्षण दिँदै पीडित परिवारलाई मानसिक यातना दिने, मानतालाई शर्मनाक गरी तीजमा चेलीबेटीलाई दमनको उपहार दिने केपी ओली सरकारका यस्ता कार्य तिनै श्रेणीको हो कि भन्ने बहस चलेको छ ।

हामी कांग्रेसका कार्यकर्ताहरू अधिनायकवाद आयो भन्ने, नेकपाका प्रिय मित्रहरू अधिनायकवाद आएको छैन र आउँदैन भन्दै दोहोरी खेलिरहँदा जस्केलाबाट अधिनायकभन्दा निर्मम, खतरनाक र डरलाग्दो, विवेकशून्य ओलीवाद आइसकेको हामीले पत्तै पाएनौं । पोखरामा पुष्पा केसीको शव संदिग्ध हालतमा फेला र्पयो। निष्पक्ष छानविन, सत्यतथ्य भएर वास्तविकता बाहिर आएको खोइ ? कञ्चनपुरकी निर्मला पन्त लगायत देशैभरी छोरीहरूमाथि भएको हिंसा, हत्या, बलात्कार जस्ता जघन्य अपराधको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनको कठघरामा उभ्याएर दण्डित गर्न सभामुखमार्फत म सरोकारवालासँग अनुरोध गर्दछु ।

(गण्डकी प्रदेश सभामा विशेष समय लिएर सांसद खड्काकाे बक्तब्य)