अदालतमा मुद्दा, संसदमा अवरोध

 

काठमाडौं, माघ २६ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आइतबारको बैठक पनि स्थगन भएको छ ।

झन्डै पौने घन्टा ढिला गरी सुरु भएको बैठकको कारबाही प्रारम्भ हुनेबित्तिकै कांग्रेसका सांसदले उठेर विरोध जनाएपछि संसदको काम–कारबाही अगाडि बढ्न सकेन ।

ललिता निवास जग्गा प्रकरणमा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा कांग्रेसले आइतबार तेस्रोपटक बैठक अवरुद्ध गरेको हो ।

यसअघि, सोही विषयलाई लिएर यही माघ २३ र २४ गते सदन अवरुद्ध भएको थियो ।

सभामुख अग्निप्रसाद सापकाटाले सदनको काम–कारबाहीलाई जीवन्त, चलायमान र प्रभावकारी बनाउन पटक–पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए ।

सभामुखले संवैधानिक व्यवस्थाबारे अवगत गराउँदै सो विषय अदालतमा गइसकेकाले संसदबाट निरुपण नहुने स्पस्ट पारेका थिए ।

उनले सदनको ओझ, गरिमा र सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराएका थिए ।

कांग्रेस सांसदले उभिएर विरोध जनाइरहँदा कांगेस सांसद दिलेन्द्रप्रसाद बडूले ‘ललिता निवास प्रकरणमा कसलाई भन्दा पनि कसरी मुद्दा अगाडि बढाइएको हो ?’ भन्दै आपत्ति जनाएका थिए ।

प्रतिपक्षी दलका सांसदले अवरोध कायम राख्दै गर्दा सत्तापक्षीय दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीले भने नियमापत्ति गर्दै सदनको कारबाहीलाई अगाडि बढाउन माग गरेकी थिइन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ २८ गते दिउँसो १ बजे बस्नेछ । (रासस)