अञ्जन धमलाको संघर्षः साधारण खेलाडीदेखि अन्तराष्ट्रिय पदकसम्म

पोखरा, भदौ ९ ।
सामान्य परिवारमा जन्मेहुर्केको मान्छेको सपना कस्तो होला ? परिवारको छाक टार्ने र विहान बेलुकीको जोहो गर्ने भन्दा माथी सोच्ने समय नै हुँदैन । राष्ट्रिय स्तरको खेलाडी बन्ने र खेल क्षेत्रको नेतृत्व गर्ने सपना कमैको हुन्छ, त्यो पनि पहाडी क्षेत्रमा । विहान बेलुकीको काम धन्दामै धेरैका सपनाहरु मरिरहेका छन् । कतिले सपना देख्नै पाएका छैनन् । त्यसको अपवाद बने, गोरखा घैरुङ स्थित खगीका अञ्जन धमला ।

गाउँमा जन्मिएर खेलका सामान्य ज्ञान पनि नभएका अञ्जन निरन्तर मेहिनत गरे । सामान्य खेलाडीबाट खेल क्षेत्रमा छिरे । निकै ठूलो संघर्ष गरे । राष्ट्रिय, अन्तराष्ट्रिय स्तरको खेलाडी हुँदै उनी आईटिएफकै कोच र अहिले नेपालका केन्द्रीय अध्यक्ष छन् ।

अनबरत रुपमा खेल क्षेत्रमा योगदान गरेका धमलालाई उनको कामको मुल्यांकन गरेर बुल्गेरियामा सम्मानित गरिएको छ । उनलाई अन्तराष्ट्रिय तेक्वान्दो महासंघले इन्टरनेसनल आउटस्ट्याण्डिङ इस्ट्रक्टरको अवार्ड प्रदान गरेको हो । बुल्गेरियाको प्लामोदीप शहरमा सोमबार अन्तराष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) को २७औं कंग्रेसले धमलालाई अन्तराष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो ।

४ बर्षअघि २०१५ मा बुल्गेरियमै अर्डर मेडल पाएका उनले यो बर्ष विश्वस्तरीय सम्मान पाएका हुन् । आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट ब्यक्तित्वलाई छनोट गरि प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गदै आएको छ । यस बर्ष भने नेपालका धमलाले त्यो सफलता पाएको नेपाली टोलीका सदस्य घमबहादुर थापामगरले जानकारी दिएका छन् ।

२७औं महाधिवेशनको अवसरमा सम्मान ग्रहण गरेपछि धमलाले खुसी ब्यक्त गर्दै यो अवार्ड आफ्नो लागि मात्र नभई समग्र नेपाली खेलकुद विकासको लागि महत्वपूर्ण रहेको बताए । उनले आफ्नो अनुभव, शीप र कौशललाई इमान्दार खेलकर्मीको हैसियतले खेलकुदको विकास र विस्तारमा समर्पित रहि रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

‘मेरा लागि यो अवार्ड काम गर्न अझै उत्प्रेरित बनाउने माध्यम बनेको छ,’ धमलाले भने,‘ आगामी दिनमा नेपाली आइटिएफलाई अझै विकास गर्नका लागि नयाँ योजना बनाएर अगाडि बढ्नेछु ।’ एक समय आइटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी हाल नेपालका अध्यक्ष तथा दक्षिण एसियाली आइटिएफका वरिष्ठ उपाध्यक्षसमेत हुन् । उनी करिब दुई दशकदेखि यो खेलमा सक्रिय छन् ।

वि.सं. २०५४ सालदेखि डब्लुटिएफ तेक्वान्दोबाट आफ्नो खेल करियर आरम्भ गरेका धमलाले पछि आइटिएफ खेलाडी हुँदा त्यसको नेतृत्व समालेका थिए । उनकै नेतृत्वमा २२ राष्ट्र सम्मिलित एसियन आइटिएफ तेक्वान्दो च्याम्पियनसिप नेपालमा सम्पन्न भएको थियो । धमलाले नेपालका विभिन्न जिल्लामा आइटिएफ तेक्वान्दो खेल विकास गर्न महत्वपूर्ण भूमीकासमेत खेलेका छन् । ८२ राष्ट्रका १५ सय भन्दा बढी खेलाडीहरु यतिबेला बुल्गेरिया छन् ।

धमलाले दुर्गम क्षेत्रबाट खेलाडीलाई अन्तराष्ट्रिय सहभागिताका लागि प्रोत्साहन गर्दै आइरहेका छन् । जसको कारणले उनी दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघको वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भए । बुल्गेरियामा सोमबार सम्पन्न कंग्रेसले आगामी २२औं विश्व च्याम्पियनसिपमा २०२१ मा चीनमा गर्ने निर्णयसमेत गरेको छ । २०२३ को विश्व च्याम्पियनसिप भने इटालीले मतदानमार्पmत पाएको छ । जसमा भारत पराजित भएको थियो । सोही दौरान बुल्गेरियामा अगस्ट ३१ सम्म सञ्चालन हुने २१औं संस्करणको विश्व च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिस्पर्धा समेत गर्दै छन् ।