अचम्म ! अघिल्लो महिना एउटा बच्चा जन्माएकी महिलाले अर्को महिना जुम्ल्याहा जन्माइन्

एजेन्सी, चैत २५ ।
बंगलादेशको एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन् ।

२० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको उत्तराद्र्धमा पहिलो बच्चा जन्माएकी थिइन् । त्यसको २६ दिनपछि पुन पेट दुख्न थालेपछि उनलाई अर्को अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरहरूले उनी अझै गर्भवती रहेको र उनको अर्को पाठेघरमा जुम्ल्याहा बच्चा रहेको फेला पारेका थिए ।

तत्कालै सिजरिङ विधिबाट ती जुम्ल्याहालाई जन्म दिइएको हो । पछि जन्मेका दुवै शिशु र आमाको स्वास्थ्य अवस्था सन्तोषजनक रहेकाले तिनीहरूलाई केही दिनमै अस्पतालबाट डिस्जार्च गरिएको थियो । एक विकट गाउँ निवासी सुल्तानाले पहिलो बच्चालाई खुल्ना जिल्लाको खुल्ना मेडिकल कलेज हस्पिटलमा जन्म दिएकी थिइन् ।

दोस्रोपटक २१ मार्चमा जेस्सोरे जिल्लाको एड–डिन अस्पतालमा पुर्याइएका उनको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सेइला पाडारले शल्यक्रिया गरेकी थिइन् । डाक्टर पोदारले आफूले पहिले कहिल्यै यस्तो घटना नदेखेकाले निकै आश्चर्य लागेको बताएकी छिन् । उनले सुल्तानको पति निकै गरिब भएकाले उनको पहिले अल्ट्रासाउन्ड नगरिएको बताएकी छिन् ।

तर दोस्रोपटक उनलाई किन अर्कै अस्पताल लगियो भन्ने स्पष्ट हुन सकेको छैन । सिंगापुरस्थित एकजना स्त्रीरोग विशेषज्ञले भने महिलामा दुईवटा पाठेघर हुनु कुनै असामान्य घटना नभएको बताउँछन् ।