स्थानीय तहलाई प्रभावकारी बनाउन अनुगमन तथा सहजीकरण टोली गठन

काठमाण्डौ, २३ गते । स्थानीय तहको काम प्रभावकारी नभएको र कानुनी अन्यौल भएको गुनासो बढेपछि सरकारले अनुगमन तथा सहजीकरण टोली गठन गरेको छ । धेरैजसो नगरपालिका र गाउँपालिकाका प्रतिनिधिले कामकाजमा अलमल परेको गुनासो गरेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहसचिवको नेतृत्वमा ७ वटै प्रदेशको लागि अनुगमन तथा सहजीकरण टोली गठन गरेको हो । मन्त्रालयले प्रदेश नम्बर १ मा आनन्दराज ढकाल, २ मा सुरेश अधिकारी, प्रदेश नम्बर ३ मा हरि पौडेल, ४ मा रामकृष्ण सापकोटा, ५ मा पुरुषोत्तम नेपाल, ६ मा बेदबहादुर कार्की र ७ नंबर प्रदेशको लागि रुद्रसिंह तामाङको नेतृत्वमा टोली गठन गरेको छ ।
सहजीकरण तथा अनुगमन टोलीले कर्मचारी समायोजन, विषयगत कार्यालयको सम्पत्ति हस्तान्तरण, वडा कार्यालय सञ्चालन र व्यवस्थापन तथा स्थानीय तहमा अन्योल भएका अन्य विषयका समस्या पहिचान गरेर तत्कालै सम्बोधन गर्नेछ ।
यस्तै स्थानीय तहका लागि कुनै नितिगत विषयमा संशोधन गर्नुपर्ने भएमा टोलीले मन्त्रालयलाई सुझाव पनि दिनेछ । ७ वटै प्रदेशका लागि सहजीकरण तथा अनुगमन टोली गठन भएपछि स्थानीय तहलाई काम गर्न थप सहज हुने र नागरिकले गाउँघरबाटै लिने सेवामा अझै सजिलो हुने मन्त्रालयले जनाएको छ ।