सीमाका विषयमा सरकार अल्मलिँदैन : प्रवक्ता बाँस्कोटा

 

वालिङ, कार्तिक २२ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् ।

देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको आज अनावरण गर्दै मन्त्री बाँस्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताए।

“सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ”, सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, “विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा र्पुयाउनेछौं ।”

“सरकारसँग राष्ट्रप्रेमको अडान छ त्यसैले पनि तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन”, प्रवक्ता बाँस्कोटाले भने “सरकारले आशा जगाउँदै गएको छ निराशाको खेती गरेका छैन” ।

आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले ढुक्क हुन आग्रह गरिन् ।

राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेकाले त्यसमा पछाडि नहट्ने उनले बताइन् ।

एकसय उत्कृष्ट गन्तब्यमा परेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ नं वडामा पर्ने शाह वंशको कुल देवताका रुपमा रहेको आलमदेवी मन्दिर स्याङ्जाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको स्थल हो । (रासस)