सासूलाई नागरिकता–बुहारीलाई हर्ष !
गोरखा, साउन ३१ ।
गोरखा पालुङटारकी मायादेवी ठकुरीले सजिलरी आफ्नै नाम भन्न पनि जान्दिनन् । उनलाई आफै जन्मेको ठाउँ थाहा छैन । थोते मुख, खोपिल्टो परेका गाला, पूरै चाउरिएका छाला र सेतै फुलेका कपाल । उनलाई चाहिएकै थिएन नागरिकता । त्यसो त गाउँघरतिर मालपोत बाहेक छोरी मान्छेको नागरिकता खासै काम लाग्दैन पनि ।
मायादेवीलाई बुढेसकाल लागेपछि सरकारले भत्ता दिन्छ भन्ने पत्तो छैन । रोगले थिचेपछि लामो समयदेखि घरमै थलिएकी मायादेवीका एउटा छोरा थिए । उमेर नपुग्दै छोरालाई गुमाईन् उनले । बुहारीको सहारामा जीवन विताईरहेकी उनको नागरिकता बुहारीले नै बनाईदिएकी हुन् ।
९३ बर्ष पुगेपछि मायादेवीलाई विहिबार घरमै पुगेर जिल्ला प्रशासन कार्यालय गोरखाले नागरिकता थमाएको छ । ‘मेरो बुढा ससुरा र बुढी सासुको श्राद्ध गर्न भनेर ३८ सालमा काशी जानु भएको थियो’ मायादेवीकी बुहारी धनकुमारीले भनिन्, ‘काशीमा श्राद्धेका कामहरू सबै सकेर घर फर्कने बेला ससुरा बा त त्यहीँ काशीमै बित्नु भएछ । घर आइपुग्दा त सासू आउनु, भयो ससुरा आउनु भएन । पछि अरू गाउँलेले भनेपछि हामीले ससुरा त्यहीँ बित्नु भएको भनेर थाहा पायौँ ।’
घरमा भेटिएको पूरानो कागजपत्रका आधारमा नागरिकता दिईएको प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाका शाखा अधिकृत डिल्लीप्रसाद श्रेष्ठको हस्ताक्षर भएको नागरिकता प्रशासनकै विनोद मगरले घरमै पुगेर दिएका हुन् । भत्ता पाउने थाहा पाएपछि फकाएर नागरिकता बनाउन लगाएको बुहारी धनकुमारी बताउँछिन् । सासुको नागरिकता बनेपछि धनकुमारीको हर्षको सीमा छैन । भत्ताबाट घरखर्च जोहो गर्ने कल्पनामा हराएकी उनी नागरिकता बनेपछि खुशी भएकी हुन् ।