सांसद रौनियारको पद धरापमा (अव के होला ?)
काठमाण्डौं, असोज १९ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै सत्तारुढ संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेका छन् । यद्यपि, प्रतिनिधिसभा नियमावली अनुसार उनले अदालतबाट फैसला नभएसम्म सांसदको लोगो भने प्रयोग गर्न पाउने छन् । तर, सांसदको हैसियतको सेवा सुविधा भने पाउने छैनन् ।
पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रौनियार, पप्पु कन्स्ट्रक्सनका अध्यक्ष तथा सांसद रौनियारका छोरा सुमित, सडक डिभिजिन प्रमुखसहित १२ जनाविरुद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने अधिवक्ता नवराज थपलियाले बताए । रौनियार प्रतिनिधिसभाको निर्वाचनअघिसम्म पप्पु कन्स्ट्रक्सनका अध्यक्ष थिए । सांसद निर्वा्चित भएसँगै उनले अध्यक्ष पद छाडी छोरालाई जिम्मा लगाएका हुन् ।