सरकारको कदमप्रति निर्वाचन आयोगको असन्तुष्टि

 

काठमाडौं, कार्तिक २० ।

निर्वाचन आयोगले उपनिर्वाचन आचारसंहिता लागू भएपछि प्रदेशप्रमुखको पदमुक्त र नियुक्ति गर्ने सरकारको कदमप्रति असन्तुष्टि जनाएको छ ।

बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले प्रदेशप्रमुख पदमुक्त गर्ने र नयाँ नियुक्त गर्ने विषयमा सरकारले आयोगसँग कुनै परामर्श र सहमति नलिइएको बताए ।

उनले सबै पक्षसँग छलफल गरेर आचारसंहिता जारी गरेको र आचारसंहिता नैतिक प्रश्नको विषय भएको भन्दै यसबारे आयोगमा कुनै उजुरी पनि नआएको जानकारी दिए ।

यद्यपि, उनले ‘सरकारले मन्त्रिमन्डल पुनर्गठन गर्ने वा नयाँ प्रदेशप्रमुख नियुक्त गर्ने विषय निर्वाचन आचारसंहिताको बुँदाहरुमा उल्लेख नभएको’ बताए ।

निर्वाचन आयोगले यही कात्तिक ४ गतेदेखि उपनिर्वाचन आचारसंहिता लागू गरेको थियो । तर, कात्तिक १७ गते सातओटै प्रदेशका प्रदेशप्रमुखलाई पदमुक्त गरिएको थियो । १८ गते सोमबार सातओटै प्रदेशमा नयाँ प्रदेशप्रमुख नियुक्त गरिएको थियो ।

नवनियुक्त प्रदेशप्रमुखहरुले कात्तिक १९ गते मंगलबार शपथग्रहण गरेका थिए ।

आउँदो मंसिर १४ गते विभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, स्थानीय तह प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी ३७ जिल्लाका ५२ स्थानहरुमा उपनिर्वाचन हुँदैछ । (ईमेजखबरबाट साभार)