शपथको लविङमा मनाङे–कुरा फेरे सभामुखले, मुख्यमन्त्रीसँग चियागफ

प्रकाश ढकाल
पोखरा, पुस २४ ।
एकबर्ष अघि मनाङ (ख) बाट निर्वाचित भएपछि राजीव गुरुङ उर्फ दीपक मनाङे पहिलो पटक प्रदेशसभा परिसर छिरेका छन् । सांसदमा निर्वाचित भए लगत्तै कर्तब्य ज्यान मुद्धामा कारागार पठाईएको उनलाई १ साताअघि सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गरिएको थियो । थुनामुक्त भएपछि उनले पुस १२ गते सांसदको शपथका लागि प्रदेशसभामा निवेदन दिए । पटक पटक छलफल गरेपछि आइतबार कार्यब्यवस्था परामर्श समितिको सुझावमा सभामुख नेत्रनाथ अधिकारीले मनाङेको शपथ नगराउने निर्णय सुनाए ।

सभामुखको निर्णयपछि आइतबार रातारात गुरुङ काठमाण्डौंबाट पोखरा आए । सोमबार विहानै उनी प्रदेशसभामा गए । सभामुखसँग डेढ घण्टाजति बातचित गरेपछि उनी प्रदेशसभाबाट बाहिरिएका थिए । सभामुखसँग कुरा गरेर बाहिरिएपछि उनले सभामुख शपथका लागि सकारात्मक भएको प्रतिक्रिया दिए । ‘सभामुख ज्यू सकारात्मक हुनुहुन्छ । केही समय चाहियो भन्नुभएको छ, उनले भने–शपथ लिन पाउने मेरो अधिकार हो । निर्वाचन ऐन बमोजिम शपथ लिन मलाई कसैले रोक्न मिल्दैन ।’

सामान्य कुटपिटको मुद्धामा आँफू जेल गएको भन्दै उनले अदालतले तोकेको जेल सजाएँ पनि भुक्तान गरिसकेकोले अदालतले बाहिरै बसेर मुद्धा लड्ने सुविधा दिएको उनले सुनाए । ‘फौजदारी संहिताको दफा १९४ मा कैद भुक्तान गरिसकेका ब्यक्तिले जेल बाहिर बसेर मुद्धा लड्न पाउने ब्यवस्था गरेको छ । मलाई अदालतले त्यही सुविधा दिएको हो, उनी भन्छन्–अव मैले शपथको अधिकार पाउनुपर्छ । त्यसमा सबैले सकारात्मक लिनुभएको छ ।’

ब्यापारको सिलसिलामा हप्ता र चन्दा असुलिबाट आजित भएर सामान्य कुटपिट गरेको तर ठूलो अपराध नगरेको उनको दावी छ । उनले अगाडी भने–‘रिस उठ्यो भने के गर्छ मान्छेले ? जे पायो त्यही बोलेपछि अलिअलि झापड त हानिहाल्छ नि । व्यापारी मान्छे लड्नै नसक्ने हुन्छ त ? बिजनेस गर्ने मान्छे भन्दैमा मलाई जे पनि गर्न मिल्छ त ? कि मैले पनि हप्ता दिनुपर्यो । कि चन्दा दिनपर्यो । म किन दिने त्यसै हप्ता र चन्दा ? बरु एकदुई झापड हानिन्छ । कोहीलाई १० झापड पनि हानें होला । त्यति त हो नि कुरा । अरु के मुद्दा छ मेरो ?’

शपथ लिन नपाए उनी अन्तराष्ट्रिय अदालत जाने बताएका छन् । ‘सपथ लिन नपाए म त अन्तराष्ट्रिय अदालत जान्छु नि । नेपालको अदालतमा किन जाने ? नेपालको अदालतमा के छ ? साढे ८ महिना एउटा रिट हाल्न लगाउँछ । १९ वटा पेसी चढायो । पेसी चढेको पनि थाहा नहुने, काटेको पनि थाहा नहुने, उनले भने–अनि म के का लागि सर्वोच्च अदालत जाने ? शपथ गराउनुस् । त्यसपछि कसलाई चित्त बुझ्दैन उही जान्छ अदालत ।’ शपथ गराउन नसके लिखित जानकारी दिन उनले आग्रह गरे ।

सभामुख नेत्रनाथ अधिकारीले मंगलबार निर्णय गर्ने बताए । आईतबार निर्णय गरेरै शपथ नगराउने बताएका अधिकारीले भोलिपल्टै कुरा फेरेका हुन् । प्रतिक्रिया दिनुभन्दा पहिले नै उनले प्रदेशसभाभित्रै मनाङेसँग डेढघण्टा बार्तालाप गरेका थिए । उनीसँग बसेर निस्किएपछि सभामुखले पुनः लिखित निर्णय गर्ने सुनाए । ‘कानुनी छिद्रहरु छन् । भोलि (मंगलबार) दिउँसो टुंगो लाग्छ, उनले भने–साढे २ बजे बोलाईएको छ । मैले लिखित पत्र नदिँदासम्म केही पनि हुँदैन ।’ शपथ ग्रहण गराउने वा नगराउने भन्ने बिषयमा उनले स्पष्ट धारणा दिएनन् ।

मुख्यमन्त्रीसँग चियागफ

संसदको तेश्रो अधिवेशनको पहिलो बैठक २० मिनेटका लागि स्थगीत भएको थियो । सांसदहरु कोही चिया पिउन लागे, कोही आपसमा कुराकानी गर्दै थिए । राजीव गुरुङ (दीपक मनाङे) सभामुखलाई भेटेर निस्केपछि एक घण्टामै पुनः प्रदेशसभा परिसरमा छिरे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आडमा पुगे । ५ मिनेटसम्म मुख्यमन्त्रीले नयाँशक्तिका हरिशरण आचार्यसँग कुरा गरे । राजीव आडमै थिए तर बोलेनन् ।

हरिशरणसँग कुरा सक्ने वित्तिकै राजीवले मुख्यमन्त्रीलाई नमस्कार गरे । दुबैले हात मिलाए । अनि क्यान्टिन तिर लागे । नेकपाकै अर्का सांसद राजीव पहारी मिडियटर जस्तो देखिन्थे । क्यान्टिनमा चिया अर्डर भयो, मुख्यमन्त्रीले कालो चिया पिए । राजीव गुरुङले चाहीँ ब्ल्याक कफी मगाए । उनको ब्ल्याक कफी नआउँदै संसदको घण्टी बज्यो, मुख्यमन्त्री सदन छिरे । राजीव गुरुङ चाहीँ पत्रकार र अन्य ब्यक्तिसँग बसेर कफी पिउन लागे ।

उनलाई शपथबारे केही निर्णय आउने आसा थियो । तर त्यस्तो भएन । मनाङेले यस विषयमा भेटेर छलफल गर्न चाहेको बताएपनि मुख्यमन्त्रीले भने व्यस्तताका कारण पछि भेट्ने जवाफ फर्काए । मनाङेले चाहीँ शपथ लिएर मात्रै काठमाण्डौं फर्किने बताएका छन् । मुख्य न्यायधिबक्ता राजेन्द्र घिमिरे चाहीँ कानुन अनुसार शपथ गराउन नमिल्ने बताउँछन् ।