शनिबार पोखरामा बर्षभरीकै सबैभन्दा चिसो
पोखरा, पुस १४ ।
पोखरामा शनिबार यस बर्ष कै सबैभन्दा धेरै चिसो महसुस भएको छ । क्षेत्रिय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौषमको रेकर्ड अनुसार शनिबारको न्युनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस छ । शुक्रबारको न्युनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस रहेको थियो भने अधिकतम तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
देशभर चिसो बढेसँगै पोखरामा पनि चिसो बढ्न थालेको छ । शनिबारको न्युनतम तापक्रम पोखराको यो वर्ष कै हालसम्म सबै भन्दा कम तापक्रम हो । पोखरामा सन २०१२ मा अहिले सम्मकै कम शुन्य दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो भने सन १९७० मा १ दशमलव ८ डिग्री र १९८९ मा २ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।
यस्तै कास्कीको छिमेकी जिल्ला मनाङमा शनिबार बिहानको तापक्रम माईनस २० डिग्री सेल्सियसमा झरेको मौसम बिभागले जनाएको छ । चिसोबाट वच्न चिकीत्सकले न्यानो लुगा लगाउने , तातो बनाएर बस्ने, तातो झोल पदार्थ पिउने सुझाव दिएका छन्। चिसोको कारण बालबालिका , बृद्धबृद्धा बढी प्रभावित हुन सक्ने छन् । दिनमा घाम लागेर कम चिसो भए पनि विहान, बेलुका र राती भने चिसोले जनजिवन प्रभावित बन्न थालेको छ ।–कृष्ण आचार्यले समाचार लेखेका हुन् ।