लिफ्ट चढेर सरर विन्ध्यवासिनी मन्दिर, निर्माण सम्झौता सकियो

धन बस्नेत
पोखरा, पुस ५ ।
योजना एकदशक अघि मात्रै बनेको थियो । विन्ध्यवासिनी मन्दिरमा लिफ्ट हाल्ने योजना लक्ष्मी ग्रुपले बनाएको थियो । जुन योजना लक्ष्मी ग्रुपका संस्थापक बुद्धिबहादुर श्रेष्ठले परिकल्पना गरेका थिए । त्यो परिकल्पना एकदशकपछि ग्रुपले आफनो ४५ वर्षको अवसरमा साकार बनाउँदै छ ।
आउँदो माघमा लिफ्टको शिलान्यास गरिदैं छ । लिफ्ट निर्माणले असहाय र अपांगसँगै बृद्ध बृद्धलाई मन्दिर दर्शनको लागि सहज हुने विश्वास लिइएको छ । “माघमा शिलान्यास गर्छौ ।” लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले भने्–“छ महिनाभित्रमा निर्माण पुरा गर्ने योजना छ ।” लिफ्ट निर्माण गर्न ग्रुपले ठेकेदारलाई समेत जिम्मा लगाईसकेको छ । इन्जिनियर समेत रहेका लामाचौरका राजेन्द्र थापालाई लिफ्टको जिम्मेवारी सुम्पिईसकेको छ । पोखराकै व्यापारिक प्रतिष्ठान भाट भटेनी प्रालिले लिफ्ट हाल्ने सार्वजनिक रुपमा घोषणा गरेको थियो । लिफ्ट हाल्न प्रालिले केही वर्ष अघि २१ लाख रुपैयाँ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको थियो ।
हस्तान्तरण गरिएको रकम विन्ध्यवासिनी मन्दिर परिसरमा प्रदशिणा पथ निर्माणमा खर्च गरिएको अध्यक्ष श्रेष्ठले बताए । “तत्कालिन समयमा लोडसेडिङ थियो । विजुलीको अभाव भएकै कारण प्रालिसँगको सहकार्यमा हस्तान्तरण भएको रकमलाई प्रदक्षिणा पथ बनाउन खर्च गरियो ।” श्रेष्ठले भने “अहिले लक्ष्मी ग्रुपकै लगानीमा लिफ्ट निर्माणको घोषणा गरेका हौं ।” संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट ५४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । विनियोजित बजेट निर्वाचन आचार संहिताकै कारण ल्याप्स भएको अध्यक्ष श्रेष्ठले बताए । “छुट्टिएको बजेट निर्वाचन आचार संहिताकै कारण ल्याप्स भयो ।” उनले भने–“बजेट नहुदाँ अन्य काम गर्न सकेका थिएनौं ।”
८० लाखको लागतमा लिफ्ट निर्माण गरिने छ । लिफ्ट जमिनदेखि ३० फिट उचाइको हुने छ । मन्दिरको सतहभन्दा थप १५ फिट उचाईमा पुर्याई दृष्यावकोलनको लागि सहज बनाईने छ । त्यहाँबाट दृष्यावोलकन गरी भर्याङबाट ओर्लिएर मन्दिर दर्शन गरी फर्कन सकिने छ । अध्यक्ष श्रेष्ठका अनुसार एक पटकमा १२ जना चढन मिल्छ । लिफ्ट चढ्नको लागि कुर्ने कक्ष समेत निर्माण गरिने छ ।
विन्ध्यवासिनी मन्दिरमा विशेष गरी नवदुर्गाको समयमा भक्तजनको भीड लाग्ने गर्छ । मन्दिरमा दशैंको फुलपातीको दिन विशेष गरी नेपाली सेनाले बढाँई गरिन्छ । वर्षेनी विभिन्न क्षेत्र एवं भारतीय भक्तजनहरु समेत दर्शनको लागि विन्ध्यवासिनी मन्दिर आउने गरेका छन् । हिन्दु अनुसार विन्ध्यवासिनी मन्दिर हिन्दु शक्ति पीठ अन्तर्गत नै पर्छ । कार्यक्रममा लक्ष्मी ग्रुपका तर्फबाट कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र बिन्ध्यवासिनी क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मीले लिफ्ट निर्माणसम्बन्धी सम्झौतामा संयुक्त हस्ताक्षर गरेका हुन् । श्रेष्ठ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा संलग्न भएको झण्डै ३२ वर्ष भईसक्यो । अध्यक्ष बनेकै एक दशकभन्दा लामो समय वित्यो । अध्यक्ष भएकै समयमा समितिको नाममा एम्बुलेन्स समेत व्यवस्थापन गरिएको छ ।
पोखरेली युवा सांस्कृतिक परिवारलाई समता सांगीतिक कार्यक्रम सञ्चालनार्थ उक्त संस्थाले रु दुई लाख ५० हजार सहयोग उपलब्ध गराउने पनि जानकारी दिइएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठ, बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ लगायतले लक्ष्मी ग्रुपले उद्योग व्यवसाय सञ्चालनका साथै सामाजिक सहयोगका क्षेत्रमा देखाएको तत्परता प्रशंसायोग्य भएको बताए ।