लालबाबु पण्डितले के गरे यस्तो ? समिति छल्न बिरामीको बहाना !

माठमाण्डौं, मंसिर १३ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संसद्को राज्यव्यवस्था समितिलाई ढाँटेका छन् । उनले समितिको बैठक छल्न बिरामी भएको बहाना पारेका हुन् । कर्मचारी समायोजनसम्बन्धी अध्यादेशबारे छलफल गर्न बुधबार समितिले पण्डितलाई बोलाएको थियो । अन्तिम समयमा उनले सचिव दिनेश थपलियामार्फत आफू बिरामी परेकाले सहभागी हुन नसकेको खबर पठाए ।

‘मन्त्रीज्यू बिरामी भएर आउन नसकेकाले अध्यादेशबारे केही जानकारी दिन म समितिमा आएको छु,’ समिति सभापति शशि श्रेष्ठले बोल्ने समय दिनेबित्तिकै थपलियाले भने, ‘अध्यादेश मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन भएकाले मैले धेरै कुरा भन्न मिल्दैन ।’

त्यही समय पण्डित भने मन्त्रालयमै कार्यकर्ता र अन्य व्यक्तिसँग भेटघाटमा व्यस्त थिए । आजको कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ ।