रुपन्देहीमा एक व्यवसायीको गोली हानी हत्या

बुटवल, पुस २१ । रुपन्देहीको देवदह नगरपालिका ढेकारमा गोली हानी एक ब्यवासायीको हत्या भएको छ । गोली प्रहारबाट ४० बर्षिय फर्निचर ब्यवसायी वसन्त पौडेल (बलु) को हत्या भएको हो । बलु एमाले रुपन्देही क्षेत्र नम्बर १ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन् ।
देवदह खैरनीका पौडेललाई आफैले ढेकाबरमा सञ्चालन गरेको उज्जल समिलमा श्रीमतीसँग बसेर आगो तापिरहेको बेला बिहान साढे १० बजेतिर मोटरसाइकलमा आएका २ जनाले गोली हानेका थिए । छाती र टाउकोमा गोली लागि गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।
समिलका चालक श्री कुमालका अनुसार ढोकाको काठ चाहिएको छ भनेर मिलभित्र छिरेका २ जनामध्ये एक जनाले पौडेललाई गोली हानेर भागेका थिए । मोटरसाइकलमा आएका उनीहरु गोली हानेपछि रोहिणी खोलातिर भागेका स्थानियले बताएका छन् ।
युवा संघका एक नेताका अनुसार पौडेलसँग गुण्डा नाइके मनोज पुनले फोन गरेर पाँच लाख चन्दा मागेका थिए । घटनाको केही समयपछि नै बुटवलका सञ्चारकर्मीलाई टेलिफोन गरी मनोज पुनले पौडेल हत्याको जिम्मा लिएका छन् । उनले आफू अहिले मलेसियामा रहेको बताएका छन् । गएको वर्ष पुस ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या पनि आफैले गराएको पुनले बताएका थिए ।
यता ईलाका प्रहरी कार्यालय रुपन्देहीका डिएसपी पवन भट्टराईले गोली कसले किन हान्यो भन्नेबारेमा अनुसन्धान सुरु भएकोे बताए ।
हत्याको बिरोधमा चक्का जाम
हत्याको विरोधमा बुटवलमा युवाहरुले चक्काजाम गरेका छन्। घटना लगत्तै युवा, व्यवसायी नागरिक अगुवा तथा सर्वसाधरण सुरक्षाको माग गर्दै सडकमा उत्रिएका हुन्।
नागरिकको सुरक्षा,घटनाको सत्यतथ्य अनुसन्धान, हत्यामा संलग्नलाई पक्राउ र कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग ठप्प पारेका हुन्। अवरोधका कारण पुर्वपश्चिम राजमार्गको बुटवल सडकमा सवारी चलेका छैनन्।