राष्ट्रियसभा निर्वाचन २ हजार मतदातालाई १२ हजार मतपत्र

काठमाण्डौं, माघ १९ ।
निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ हजार मतपत्र छापेको छ । चार प्रकारका १२ हजार प्रति मतपत्र छापिएको आयोगले जानकारी दिएको छ । चार प्रकारका मतपत्र हरियो र रातो दुई रङका हुनेछन् । राष्ट्रियसभाको निर्वाचनमा २ हजार ५६ जना मात्रै मतदाता छन् । ७ सय ५३ स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ जना मतदाता हुनेछन् । त्यस्तै, प्रदेशसभाका ५ सय ५० जना सांसदले पनि मत खसाल्नेछन् ।
तर, आयोगले भने १२ हजार मतपत्र छापेको छ । संविधानमा रहेको राष्ट्रियसभामा रहेको क्लस्टरको प्रतिनिधित्वको कारण यति धेरै मतपत्र छापिएको हो । संविधान अनुसार, राष्ट्रियसभामा कुल ५६ जना निर्वाचित सदस्यमध्ये प्रत्येक प्रदेशबाट ८ जनाको दरले निर्वा्चित हुनेछन् । प्रत्येक प्रदेशका ८ जनामा पनि ३ जना महिला, ३ जना अन्य समूह, एक जना दलित र एक जना अल्पसंख्यक वा अपांग निर्वा्चित हुनुपर्नेछ ।
’प्रत्येक क्लस्टर वा समूहका लागि बेग्लै मतपत्र हुनेछ’, निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने । ढकालका अनुसार, प्रत्येक मतदाताले चार वटा मतपत्र पाउनेछन् । ती छुट्टाछुट्टै समूहको लागि मतदाताले छुट्टाछुट्टै मतपत्रमार्फत मत दिनुपर्नेछ । राष्ट्रियसभामा स्थानीय तहका प्रतिनिधिको प्रति मतभार १८ र राष्ट्रियसभाको सदस्यको मतभार ४८ रहेको छ । आयोगले केही दिनअघि निर्वाचनका लागि चार प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको थियो ।