राष्ट्रियसभा चुनावको मनोनयन आज (कस्तो छ तयारी)

पोखरा, माघ १० ।
यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सात वटै प्रदेशमा आज मनोनयन दर्ता हुँदैछ । उच्च अदालत रहेका ठाउँमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । ४ नम्बर प्रदेशका लागि पोखरामा मनोनयन गर्ने कार्यक्रम रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को दिपायलमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको काम हुने निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । राष्ट्रियसभा निर्वाचनमा कुल मतदाता २ हजार ५६ जना रहेका छन् । ४ नम्बर प्रदेशमा चाहीँ २ सय २९ जनाले मतदान गर्दैछन् । स्थानीय तहका प्रमुख उपप्रमुख १ सय ७० जना र प्रदेश सांसदहरु ६० जना मतदाता हुन् । तर मनाङका सांसद दीपक मनाङे फरार रहेका कारण उनले सपथ नखाएपछि मतदाता नामावलीमा उनको नाम उल्लेख छैन । त्यसलै २ सय २९ जना मात्रै मतदाता रहेको सुवेदी बताउँछन् ।
५९ सदस्यीय राष्ट्रियसभाका लागि हरेक प्रदेशबाट ८ जनाका दरले ५६ जना निर्वाचनबाट चुनिएर जानेछन् । राष्ट्रपतिले ३ जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ । जसमा एक जना महिला अनिवार्य हुनेछन् । आयोगले उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकेको छ ।