रवि लामिछानेलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने
भरतपुर, साउन ३१ ।
पत्रकार रवि लामिछानेसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत चितवनले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने समय दिएको हो । प्रहरीले आजै लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।
अनुसन्धानका लागि १० दिनको समय माग गरिएको थियो । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिएको थियो । पुडासैनीले साउन २० गते चितवनमा आत्महत्या गरेका थिए ।
नुवाकोटका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुडासैनीले साउन २० गते चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा आत्महत्या गरेका थिए ।