रक्सी पिएर हंगामा गरेपछि गोरखाका एसपी रावलको सरुवा
पोखरा, असार २० ।
रक्सी पिएर डिआईजीलाई नै थर्काएपछि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलको सरुवा भएको छ । उनलाई ६ नम्बर प्रदेश प्रहरी कार्यालय पठाईएको छ भने उनको ठाउँमा ओम अधिकारीलाई खटाईएको छ ।
गत साता बुधबार रातिदेखि गायव यारुबगरका व्यवसायी धनकमल गुरुङको अवस्था अज्ञात छ । उनलाई आक्रमण गर्नेसमेत नौजना अझै बेपत्ता रहेको घटनाले प्रहरीलाई टाउको दुखाईको अवस्था छ । घटनाबारे बुझ्न बुधबार विहानै डिआईजी विनोद शर्मा घिमिरेले एसपीलाई फोन गरे ।
तर उनी सम्पर्कमा आएनन् । पछि आँफै फोन गरेर उल्टै डिआईजीलाई थर्काए । रक्सीको सुरमा गीत गाईदिए । त्यसपछि चेकजाँचका लागि प्रदेश प्रहरी कार्यालयबाटै टोली खटाईयो । त्यतिबेला पनि उनी रक्सीले मातेको अवस्थामा भेटिएका थिए ।
उनको काज सरुवा भएको डिआईजी शर्माले बताए । उनीसहित ६ एसपीको एकैपटक सरुवा भएको हो । यस्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा श्यामकृष्ण अधिकारी र जिल्ला प्रहरी कार्यालय बाग्लुङमा नवराज भट्टको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ईश्वर कार्की महानगरीय अपराध महाशाखा र कृष्णहरि शर्मा मानव अधिकारी छानबिन इकाईमा सरुवा भएका हुन् ।
‘अनुशासनभन्दा बाहिर गएकाले त्यसैअनुरूप कारबाही हुन्छ । तर अहिले काज सरुवा भएको हो । राम्रो परफर्मेन्स राम्रो नभएपछि सरुवा हुनु स्वभाविक हो,’ उनले भने । माथीको आदेश आएपछि उनलाई थप कारबाही हुने डिआईजी शर्माले बताए ।