यस्तो भयो प्रदेश ४ को पहिलो बैठक (फोटो फिचर)

पोखरा, माघ २२ ।
प्रदेश नम्बर ४ को पहिलो बैठकमा सांसदहरुले प्रदेशको विकास र समृद्धीका लागि एकीकृत भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । वाम गठबन्धनले स्थायी सरकार बनाउने र काँग्रेसले बलियो प्रतिपक्षी बनेर सघाउन तयार रहेको बताए । दलको हैसियत अनुसार बोल्ने बक्ता र पालो सहित समय निर्धारण गरिएको प्रदेश ४ मा सबैले समयभित्रै आफ्ना भनाई राखे । सांसदहरु तोकिएकै पोसाकमा आएका थिए । केही आफ्नै जातिय पोसाकमा थिए भने कोही नेपाली पोसाक र कोही चाहीँ सुट पाईण्टमा ठाँटिएर सभामा सहभागी भए ।  
अन्य प्रदेशहरुमा प्रदेशसभामा उपस्थित दलका एक एक जनाले बोलेका थिए तर, प्रदेश ४ मा भने ठूला तीन दलका तीन तीन सांसदले बोलेका छन् । बैठकलाई सम्बोधन गर्दै एमाले सांसद पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा कोही पनि पक्ष र प्रतिपक्ष नभएको बताए । उनले कोरोला र सुस्ता नाका भएको प्रदेश ४ लाई समृद्ध प्रदेश बनाउन सबै मिलेर काम गर्ने र सही नेतृत्व प्रदान गर्ने दावी गरे । मुख्यमन्त्रीका दाबेदार सांसद किरण गुरुङ दलको हैसियत भन्दा सांसदको क्रियाशिलता ठूलो हुने भन्दै कोही पनि पार्टी ठूलो सानो नभएको बताए । काँग्रेसका सांसद कृष्णचन्द्र नेपालीले विरोधी नभई असल प्रतिपक्षीको भूमिका पूरा गर्ने बताए । उनले समुन्नत र सम्पन्न प्रदेश बनाउन, भ्रष्टाचार अन्त्य, विधिको शासन स्थापनामा कांग्रेसले नेतृत्व लिने उल्लेख गरे ।
माओवादी केन्द्रका हरिबहादुर चुमानले प्रदेशसभा र स्थानीय तहको अधिकार खोस्ने प्रयत्न भइरहेको भन्दै त्यसविरुद्ध एक भएर लड्ने बताए । सबैभन्दा धेरै अवसर रहेको भन्दै उनले समृद्ध प्रदेश बनाउने बाचा गरे । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले भने दलीय धारणा जस्तै संघीयताको विरोध गरे । यसले मुलुकलाई अप्ठ्यारो अवस्थामा र्पुयाउने उनको चेतावनी छ । नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले धेरैले प्रतिवद्धता जनाएको तर, पुरा नभएको भन्दै अब बाचा पूरा गर्ने बेला आएको बताए । उनले अब साझा भावना र नयाँ संंकल्पका साथ अघि बढ्न जरुरी रहेको बताए ।
तस्विर-डिएनए