मुग्लिन पुल १५ दिन बन्द हुने (तालिका सहित)
समुन्द्र पौडेल
तनहूँ, जेठ १६ ।
गण्डकी प्रदेशको मुख्य प्रवेशद्धारको रुपमा रहेको मुग्लिन पुल मर्मत र मोड कटिङ कार्यका लागि केही दिन पुल यातायात बन्द हुने भएको छ । त्रिशुली नदी माथी बनेको आर्क आकारको नयाँ पुल संचालनका लागि आवश्यक तयारी गर्न बिहीबारबाट १५ दिनसम्म दुई चरणमा दैनिक ९ घण्टा यातायात संचालन बन्द रहने सडक विभाग अन्र्तगतको मध्य सेक्टर नम्बर २ पुल आयोजनाले जनाएको छ ।
बिहीबारबाट जेठ ३० गतेसम्म बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म र राती ९ बजेदेखी २ बजेसम्म पुल यातायात बन्द हुने पुल निर्माण कम्पनी इलाइट एड्भेन्चर लोहनी जेभीका संचालक मोतीलाल शर्माले जानकारी दिए । ‘पुल र सडक बिचको मोड र भुइ खण्ड कटिङ गर्नु पर्ने भएकाले समय तालिका अनुसार सडक अबरुद्ध रहने छ,’ उनले भने, ‘पुलको मोडका लागि ६ मिटर भित्ता कटिङ र भुईमा डेढ मिटर कटिङ गरिने छ ।’ निर्माणाधीन पुलको दुबै तर्फ पर्खाल लगाउने तथा दुबै किनार भागमा बाकी क्षेत्रमा कालोपत्रे समेत गरिने शर्माले जानकारी दिए ।
त्रिशुली नदी माथीको मुग्लिन पुल जीर्ण भएपछि २०७१ सालबाट त्रिशुली नदी माथी आर्क आकारको नयाँ पुल निर्माणको कार्य शुरु भएको थियो । मुग्लिन पुल अबरुद्ध हुदाँ गोरखा, तनहुँ, कास्की, स्याङ्जा लगायतका जिल्ला जाने यात्रुलाई समस्या हुने भएको छ । संरचना निर्माणका लागि समय तालिका अनुसार सडक अबरुद्ध हुने भएपछि बैकल्पिक मार्गको प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका सुदर्शन श्रेष्ठले बताए । ‘सर्वसाधारणले सडक अबरुद्ध हुनु अगाबै सहज रुपमा यातायात आवातजावत गर्न सक्नेछन्’ उनले भने, ‘सवारी साधनको चाप कम गराउन बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध समेत गरेका छौ ।’
नारायणघाट–काठमाण्डौ सडक खण्डमा यातायात सहज बनाउन ट्राफिक प्रहरीले मुग्लिन–काठमाण्डौतर्फ मुग्लिन बजार, कुरिनटार र मेवाटार क्षेत्रमा तथा चितवन खण्डमा जुगेडी र तनहुँ खण्डको आबुखैरेनीमा सवारी साधन रोकिनेछन ।
यस अघि गत बैशाखबाट नै पुल संचालनको योजना बनाए पनि निर्माण कम्पनीले दिएको डिजाइन विभाग स्वीकृत नभएकाले यस अघि निर्माणको काम रोकिएको थियो । मंगलबार मात्र विभागबाट ठेकेदार कम्पनीलाई सडक तयार पार्नका लागि डिजाइन अनुमति प्राप्त भएपछि बिहीबारबाट काम अघि बढाइएको निर्माण कम्पनी इलाइट एड्भेन्चर लोहनी जेभीले जनाएको छ ।
मुग्लिनमा निर्माण भएको आर्क आकारको पुल देशकै आर्क प्रविधिको सबैभन्दा लामो पुल हो । चिनियाँ प्रविधिमा आधारित बढी भार बहन गर्न सक्ने पुलको निर्माण र डिजाइनिङ स्वदेशी प्राविधिकहरुले गरेका हुन् ।