मुख्यमन्त्री बन्न नेताको ठेलमठेल

पोखरा, माघ १४ ।
प्रदेशसभाको पहिलो बैठक केही दिनपछि बस्दैछ । बैठकपछि लगत्तै मुख्यमन्त्री र सभामुख, उपसभामुख लगायत मन्त्रीमण्डल विस्तार हुनेछ । बहमुत प्राप्त दलको संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । दलको बैठकबाट संसदीय नेता चुनिने भएपछि हाल नेताहरु आन्तरिक तयारीमा ब्यस्त छन् । ७ मध्ये ६ वटा प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने लगभग पक्का जस्तै छ । एमाले र माओबादीले मिलेर ६ प्रदेशमा सरकार बनाउनेछन् । माओबादीलाई २ वटा मुख्यमन्त्री दिएर बाँकी ४ वटा एमालेले राख्ने बुझिएको छ । प्रदेश २ भने कुनैपनि शक्तिको बहुमत नभएपछि प्रतिश्पर्धा कडा छ । एमालेले दावी गरेका प्रदेशहरुमध्ये सबैभन्दा बढी कठिन ४ नम्बर देखिएको छ । २ मुख्य नेताहरु मुख्यमन्त्रीको दौडमा भएकाले प्रतिश्पर्धा टुंग्याउन समस्या भैरहेको एमाले श्रोतले बताएको छ । यो प्रदेशमा एमालेका पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दावेदार हुन् । एकले अर्कालाई मुख्यमन्त्री छोड्ने मनसायमा दुवै नेताहरु छैनन् । आन्तरिक प्रतिश्पर्धामा गएर हारजीत स्विकार्ने उनीहरु बताउँछन् । पार्टी केन्द्रिय तहमा चाहीँ आलोपालो मुख्यमन्त्री बनाउने बिषयमा पनि बहश चलेको थियो । यसलाई पनि नस्विकार्ने दुवै नेताले बताए ।
प्रदेश १ मा एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । आचार्य पार्टीको प्रदेश संयोजक र राई सहसंयोजक हुन् । यीबाहेक पार्टी केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्षहरू हिक्मत कार्की र राजेन्द्र राई चर्चामा रहे पनि उनीहरूको दाबी सशक्त छैन । यद्यपी यो प्रदेशमा शेरधनको बढी सम्भावना बुझिएको छ । प्रदेश २ मा संघीय समाजवादी फोरमका विजय यादव, लालबाबु रावत र शैलेन्द्र साह, राजपाबाट जितेन्द्र सोनल र मनीष सुमन दाबेदार छन् । प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागाईं र राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदार छन् । वैकल्पिक पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ तथा काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित पनि आकांक्षी छन् । यहाँ अष्टलक्ष्मी शाक्यलाई निकै उचाईमा हेरिएको छ ।
प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीको एक मात्र दाबेदारका रूपमा प्रदेश सभा संसदीय दलको नेतासमेत चयन भइसकेका छन् । प्रदेश ६ मा माओवादीका पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन् । महेन्द्र शाहीको सम्भावना यो प्रदेशमा बढी छ । प्रदेश नम्बर ७ मा माओवादी नेताद्वय वीरमान चौधरी र झपट बोहरा आकांक्षी छन् । वीरमान चौधरी मुख्यमन्त्री बन्न सक्ने प्रवल सम्भावना रहेको माओबादी श्रोत बताउँछ ।