मनाङमा चुनाव कहिले ? सरकार मौन–अन्यौलमा प्रदेशसभा

पोखरा, भदौ ८ ।
चुनाव जितेपनि अपराधमा जेल गएपछि दीपक मनाङे (राजीव गुरुङ) को क्षेत्र जनप्रतिनिधी विहिन छ । गएको मंसिर ४ गतेको चुनावमा मनाङ प्रदेशसभा (ख) बाट स्वतन्त्र चुनाव जितेका उनी प्रदेशसभाको शपथ पनि नलिई कर्तब्य ज्यान मुद्धामा जेल पसे ।

निर्वाचन आयोग मौन बस्दा गण्डकी प्रदेशले एकजना सांसद पाउन सकेको छैन । ६० सांसद रहने यो प्रदेशमा सुरुदेखि नै ५९ सांसद रहे । रिक्त रहेको क्षेत्रमा तत्कालै चुनाव गराउन प्रदेशसभाका सांसदले माग गरेका छन् । मनाङेको ठाउँमा उपनिर्वाचन गर्न जनमोर्चाका सांसद कृष्ण थापाले माग गरे ।

१ महिनाअघि प्रदेशसभा बैठकमा विशेष समय लिएर बोलेका उनले सांसद रिक्त हुन नहुने भन्दै तत्काल चुनावको मिति घोषणा गरेर उपनिर्वाचनको ब्यवस्थापन मिलाउन आग्रह गरे । प्रत्यक्षतर्फ ३६ र समानुपातिक २४ गरि गण्डकी प्रदेशमा ६० जना सांसदको ब्यवस्था छ ।

निर्वाचन गराउने नगराउने विषयमा गण्डकी प्रदेशसभा चाहीँ मौन छ । गण्डकी प्रदेशका मुख्यन्यायधिवक्ता राजेन्द्र घिमिरेले प्रदेश सरकारलाई निर्वाचनसम्बन्धी कुनैपनि अधिकार नभएकोले बोल्न नमिल्ने बताउँछन् । पद रिक्त रहेको जानकारी गराईसकेको भन्दै उनले सरकारले प्रक्रिया अघि बढाए आवश्यक सहयोग गर्ने बताए ।

गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले रिक्त रहेको पदमा कुनै बहस नभएको बताईन् । सामान्य छलफल सभामा भएपनि उपनिर्वाचन बारे कुनै निर्णय भईनसकेको उनको भनाई छ । अपराध ठहर गरी जेल गैसकेपछि सांसद पद स्वतः खारेज हुन्छ । सरकारले चुनावको मिती घोषणा नगर्दा अन्यौल बढेको छ ।