मकवानपुरको क्षेत्र नम्बर १ मा कमल थापा अगाडी , हेर्नुहोस सबै क्षेत्रको पछिल्लो मतपरिणाम

२२ मंसिर, हेटौडा/मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं राप्रपा अध्यक्ष कमल थापाले अग्रता लिएका छन् । उनले १३ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै बामगठबन्धनका तर्फबाट एमोलेका उम्मेदवार कृष्णप्रसाद दाहाल ११ सय १६ मत प्राप्त गरि थापालाई पछ्याईरहेका छन् ।

क्षेत्र नम्बर १ कै प्रदेशसभा क मा भने बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर पुलामी छिन्तुले अग्रता लिएका छन् । उनले १४ सय ४९ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार धर्मराज लामिछानेले १४ सय १ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा ख मा लोकतान्त्रिक गठबन्धनका अशोक शाक्य अगाडी छन् । उनले ११ सय २६ मत पाउदा बामगठबन्धनका उम्मेदवार डोरमणी पौडेलले १ हजार ९२ मत प्राप्त गरे ।

यता प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा भने बामगठबन्धनतर्फका एमालेका उम्मेदवार बिरोध खतिवडाले अग्रता कायमै राखेका छन् । उनले १२ सय २६ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनतर्फका कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ५ सय ७ मत पाएका छन् । क्षेत्र नम्बर २ कै प्रदेशसभा क मा माओवादी केन्द्रका कुमारी मोक्तानले १६ सय ८० मत प्राप्त गरे भने कांग्रेसका यतिराज सापकोटाले १२ सय ५७ मत पाएका छन् ।
त्यस्तै प्रदेशसभा ख मा यसअघि लोकतान्त्रिक गठबन्धनले अग्रता लिएपनि अहिले भने बामगठबन्धनले अग्रता लिएको छ । बामकातर्फबाट एमालेका उम्मेदवार राजाराम स्याङ्तानले १३ सय ८४ मत ल्याउदा कांग्रेसका ईन्द्रबहादुर बानियांले ११ सय ३६ मत पाएका छन् ।
मकवानपुरको २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा हिजो भएको मतदानको मतगणना जारी छ । गएराती ३ बजेसम्ममा सबै मतपेटीका मतगणना स्थल मकवानपुर बहुमुखी क्याम्पसमा ल्याईएको थियो ।

मकवानपुरमा दुइ लाख ५५ हजार ६ सय ४ जना मतदाता रहेकामा कुल १ लाख ७१ हजार मत खसेको थियो । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख २४ हजार ७ सय ९९ रहेकामा ८४ हजार २ सय ६९ मत खसेको छ । यस्तै क्षेत्र नम्बर २ मा कुल मतदाता १ लाख ३० हजार ८ सय ५ मतदाता रहेकामा ८६ हजार ७ सय ३१ मत खसेको निर्वाचन कार्यलयले जनाएको छ ।

हिजो सम्पन्न मतदानबाट मकवानपुरमा ६६ प्रतिशत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ । दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाको लागि मकवानपुरमा ६८ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएका थिए भने नयाँ शक्ति नेपालका तर्फबाट उम्मेवार बनेका प्रल्हाद लामिछाने र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।