भ्रमको जवाफ जनमतले दिन्छौं : विद्या

 

पोखरा, मंसिर ८ ।

नेकपा कस्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताएकी छन् । उनले स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले कसैप्रति आपेक्ष नलगाउने उनको भनाइ छ ।

आइतबार पोखरा १६ अर्मलामा भएको घरदैलो र कोणसभामा उनले कांग्रेसले फैलाएका भ्रममा जनताले विश्वास नगर्ने उल्लेख गरिन् । ‘विश्वासले संसार जितिन्छ,’ उनले भनिन्, ‘जोसुकैले जस्तोसुकै अपवाह फैलाए पनि जनता जनार्दन हुन् । आफैं सत्य छुट्याउन सक्षम छन् ।’

अर्मला र मौजाका लेकमा जडिबुटी उत्पादन र पशुपालन फारम स्थापना गरी व्यवसायिक बनाउने योजना उनले सुनाइन् । उनले मौजा, काहुँ, भलाम, अर्मलाकोट, निर्मलपोखरी जस्ता डाँडामा केबुलबार सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन् । यसका लागि वातावरणीय प्रभाव मूल्यांकन र सम्भाव्यता अध्ययन थालिएको छ । उनले अर्मलादेखि मौजासम्मको बाटो ३ वर्षभित्रमा कालोपत्रे गरिसक्ने घोषणा गरिन् । अर्मलाकोटलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने उल्लेख गर्दै उनले विकासका लागि गुरुयोजना बनाएर गर्ने प्रतिवद्धता जनाइन् ।

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले बृहद खानेपानी योजना सकेर चाडै यो क्षेत्रमा खानेपानीको सहज आपूर्ति हुने बताए । नेपाल ओलम्पिक कमिटीका सदस्यसमेत रहेका नेकपा नेता तेजबहादुर गुरुङले नेकपा विकास र समृद्धिको संवाहक भएको उल्लेख गरे ।

कार्यक्रममा नेकपा नेताहरु मीना गुरुङ, विनय थापा, गोमा गौतम, मातृशिशु अस्पतालकी उषा बरुवाल, लक्ष्मीनारायण आमा समूहकी अध्यक्ष सपना जिसीलगायतले बोलेका थिए ।

एजेन्डासहित नेकपा घरदैलोमा

नेकपा मंसिर १४ गते उपचुनाव हुने पोखरा महानगरका ११ वटै वडामा अभियान जारी राखेको छ । प्रचारप्रसार समिति संयोजक त्रिभुवन पौडेलले नेकपाले चुनावी प्रचारसँगै निर्वाचन निष्पक्ष, मर्यादित र सहज वातावरणमा सम्पन्न गर्न पहल गरेको बताए । कात्तिक ११ गते नेकपाले प्रदर्शनी केन्द्रमा हुने आमसभामा सहभागी हुन कास्की २ का वासिन्दालाई आग्रह पनि गरे । सभामा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताले सम्बोधन गर्ने छन् ।

पोखरा ४ का मतदातासँग भेटघाट गरिरहेको छ । नेकपा वडा कमिटी, बुद्धिजीवीसहित घरदैलौ गरी नेकपाका एजेन्डा जनतालाई बुझाउने क्रम जारी रहेको चुनावी कमान्डर दामोदर बैरागीले बताए ।

पोखरा ७ मा नेकपानिकट सहकारीकर्मी र बुद्धिजीवीको बैठक भएको छ । नेकपा वडा अध्यक्ष पुरुषोत्तम रेग्मीले घरदैलोकोसहित नमुना मतपत्र लिएर निर्वाचन परिचालन कमिटी लागिरहेको बताए । वडामा मतदाताका माग सुन्ने र बुथ कमिटी सदस्यलाई प्रशिक्षण दिइरहेको पोखरा ८ अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिए ।

यता वडा नं ९ का चुनावी कमान्डर प्रभा कोइरालाको नेतृत्वमा आइतबार महेन्द्रपुल, पालिखेचोक, भीमसेनचोक, नयाँबजार, शुभकामना टोल लगायतका क्षेत्रमा घरदैलो गरिएको वडा कमिटी अध्यक्ष यमबहादुर कार्कीले जानकारी दिए । नेकपा पोखरा ११ का चुनावी कमान्डर चूडामणि जंगलीले आइतबार काहुँडाँडामा घरदैलो भइरहेको बताए । उनले मतदान गर्न सिकाउने, उम्मेदवारको चिठी बुझाउने र पार्टीको घोषणापत्रबारे प्रकाश पारिएको जनाए ।

पोखरा १५ मा खरबारी, मितेरी टोल, ठूली मजुवा क्षेत्रमा घरदैलो गरी मतदातालाई नेकपा दुखसुखमा जनतासँगै रहेको जनाएको छ । वडाका चुनावी कमान्डर बखान सिंह तमु, १५ का अध्यक्ष भक्तबहादुर खत्री लगायत घरदैलोमा सहभागी छन् ।

उम्मेदवारसहितको घरदैलो सकिएपछि नेकपा १७ ले वडाका विभिन्न भेगका मतदातासँग भेटघाटसहित अन्तक्र्रिया गरिरहेको छ । नेकपा १७ सचिव ईश्वरी लम्सालले मंसिर १० गतेसम्म घरदैलो गरी नेकपा नेतृत्वका ३ तहका सहकारले गरेका काम र एजेन्डाहरु बुझाइरहेको बताए । पोखरा १७ मा यो आर्थिक वर्षमा मात्रै ५४ करोड १५ लाखका काम भइरहेका छन् । यही आर्थिक वर्षमा ३ झोलुंगे र ५ मोटरेबल पुल र १ मर्मत गरी ११ वटा पुललाई बजेट छ । मुस्ताङचोकबाट छोरेपाटनसम्म ४ लेनको ठेक्का, वडाका सबैजसो भागमा खानेपानीको व्यवस्था यही आर्थिक वर्षमा भइसक्ने पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले जानकारी दिए ।

पोखरा २० मा बुथ कमिटीको प्रशिक्षण, घरदैलोको समीक्षा, मतदाता शिक्षा जस्ता अभियानमा नेकपा लागेको अध्यक्ष भीमप्रसाद बास्तोलाले बताए । पोखरा २० भलाममा भएको कार्यक्रममा राप्रपा कास्की जिल्ला सदस्यद्वय कृष्णबहादुर कार्की र रमनबहादुर कार्कीलाई नेकपा गण्डकी सहइन्चार्ज खगराज अधिकारीले नेकपामा स्वागत गरे । उनीहरुसँगै लोकबहादुर कार्की, रामबहादुर रसाइली, ओमबहादुर रसाइली, नन्दलाल रसाइली र दमयन्ती अधिकारी पनि विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् ।

पोखरा २१ मा चुनावी कमान्डर दीपक पौडेल, खड्ग हमाल, झपट रानाभाट, श्रीराम सुवेदी लगायतको टोली मतदाता भेटघाट र नेकपाको रोडम्याप जनतालाई बुझाउन व्यस्त छ । पोखरा ३३ का ५ बुथ कमिटीका बैठक गरी रणनीति तय गरिएको र आवश्यकता अनुसार घरदैलो, छलफल र भेटघाटमा केन्द्रीत रहेको नेकपा अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीले बताए ।

कांग्रेस नेता नेकपा प्रवेश

२० वर्षदेखि कांग्रेसको सक्रिय साबिक अर्मला गाउँ कमिटी सचिव धर्मराज आचार्य नेकपा प्रवेश गरेका छन् । कांग्रेस हरिपाउ मुला छर्ने क्षेत्रका चुनावी कमान्डर समेत रहेका आचार्यले नेकपाको सहाराविना विकास निर्माण सम्भव नरहेकाले आफू नेकपा प्रवेश गरेको बताए । आचार्यसहित ७ जना नेकपाको समृद्ध नेपाल, सुखी नेपालको नारालाई आत्मसात गरी नेकपा प्रवेश गरेको प्रचारप्रचार सहसंयोजक झपट रानाभाटले जानकारी दिए ।