भरतपुर तनावग्रस्त–१० राउण्ड हवाई फायर, एक जनालाई गोली लाग्यो
भरतपुर, साउन ९ ।
भरतपुर महानगरपालिकाले राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चल्न नदिने निर्णयको बिरोधमा भएको प्रर्दशनका कारण बुधबार दिनभरजसो भरतपुर क्षेत्र तनावग्रस्त बन्यो । अटो ट्याम्पो व्यवसायी र मजदुर एवम् प्रहरीबीच भएको झडपमा एक दर्जन प्रहरी र केही आन्दोलनकारी घाइते भए । प्रर्दशनकारीहरुले केन्द्रीय बस टर्मिनल नजिक एक घण्टासम्म राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले खोल्न अनुरोध गर्दा दुई पक्षका बीच झडप भयो, गोली चल्यो ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय नजिकै रहेको प्रहरी चांकीमा आगजनी गर्न खोजे । उनीहरुले ना १६ प ९४०७ नम्बरको मोटरसाइकलमा आगजनी गरे । प्रहरीले १० राउण्ड हवाई फायर गर्यो । प्रदर्शनकारीहरुले योजनावद्ध रुपमा अटोमा बोकेर ल्याएर ढुंगा र इट्टा प्रहरी माथि बर्साउन थालेपछि प्रहरीले मान्छे नै ताकेर गोली चलायो ।
प्रहरीको गोली लागी गैडाकोट नगरपालिका ५ वस्ने बर्ष ३८ का महेन्द्र सुनार घाइते भए । उनको घुँडा भन्दा तल गोली लागेको छ । मोटरसाइकल जलाउने उनै भएको प्रहरीको दावी छ । भरतपुरको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा शल्यक्रिया गरिएको अस्पतालका अर्थोपेडिक सर्जन एवम् सञ्चालक डा. प्रमोद लामिछानले जानकारी दिए ।
प्रदर्शनका क्रममा १२ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभु ढकालले जानकारी दिए । घाइते प्रहरीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । डिएसपी ढकालले आन्दोलनकारीहरुले उग्रताले हद नाघेपछि प्रहरीले हवाई फायर गरेको बताए । राजमार्ग नै बन्द गरेर सडकमा अवरोध खडा गर्ने काम राम्रो नभएकोले बल प्रयोग गरी राजमार्ग खुलाइएको बताए ।