बैंकले तोके नयाँ ब्याजदर, कुन बैंकको कति ?
काठमाण्डौं, माघ ९ ।
चालु आर्थिक वर्ष २०७५÷०७६को दोस्रो त्रैमास सकिएसँगै बैंकहरूले ब्याजको आधारदर (बेसरेट) निर्धारण गरेका छन् । बैंकले प्रत्येक तीन–तीन महिनामा नयाँ ब्याजदर सार्वजनिक गर्ने व्यवस्थाअनुसार नयाँ आधारदर निर्धारण गरेका हुन् ।
बैंकहरुको आधारदर घटेसँगै ऋणको ब्याजदर पनि घट्छ । आधारदरलाई नै मध्येनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरुले ऋण प्रदान गर्छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंर्कस संघले निक्षेपको ब्याजदर घटाएर भद्र सहमति गरेसँगै कर्जाको ब्याजदर घटाउन पनि बैंकहरुलाई दबाब परेको थियो ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले निक्षेपको ब्याज घटेका कारण बैंकहरुको आधार दर पनि घटेको बताए । भने, ‘आधार दर तल आए(घटे) सँगै ऋणको ब्याजदर स्वभाविक रुपमा घट्छ ।’ आधार दर जतिले घट्छ, त्यति नै ऋणको ब्याज घटाउनुपर्ने राष्ट्र बैंकको प्रावधान छ ।’
यता उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको निर्देशनअनुसार राष्ट्र बैंकले आधार ब्याजदरमा सम्पत्तिको प्रतिफल (रिटर्न अन एसेट) बापत शून्य दशमलब ७५ प्रतिशत घटाउन बैंकलाई परिपत्र गरेको थियो ।
यो निर्देशनपछि हरेक बैंकको आधार ब्याजदरमा शून्य दशमलब ७५ प्रतिशत विन्दुले घट्नु पर्ने हो । तर, वाणिज्य बैंकहरुले पुस मसान्त सकिएसँगै तय गरेको नयाँ आधार ब्याजदरमा केही बैंकले मात्र आधारदर घटाएका छन् भने केहीको यथावट र केहीले थोरै वृद्धि गरेका छन् ।
राष्ट्र बैंकको उक्त निर्देशनअनुसार आधार ब्याजदर परिवर्तन भएअनुसार सबै ऋणको ब्याजदर सबै बैंकहरुले समायोजन गर्नु पर्छ । तर, बैंर्कस संघले राष्ट्र बैंकलाई पत्र लेखेर आधार ब्याजदरबाट घटाइएको शून्य दशमलब ७५ प्रतिशत प्रिमियममा जोड्न पाउने माग गरेको हो । यसले पुराना ऋणीको ब्याजदर नघट्ने देखिन्छ ।