‘बागलुङको जैमिनीमा मतदाता परिचयपत्र कब्जा’

प्रकाश ढकाल
पोखरा, मंसिर ९ ।
एमाले, माओबादी र जनमोर्चाका नेता तथा कार्यकर्ताले बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ९ मा मतदाता परिचयपत्र नै कब्जा गरेका स्थानीयले आरोप लगाएका छन् । करिब २ हजार ६ सय मतदाता परिचयपत्र बाँड्नुपर्ने यो वडामा ३ बजेसम्म सबैको रोहवरमा बाँडिएपनि त्यसपछि बाँकी परिचयपत्र वाम गठबन्धनका नेता कार्यकर्ताले बुझेर लगेका उनीहरुको आरोप छ । स्थानीयका अनुसार झण्डै २ हजार परिचयपत्र उनीहरुले लिएका छन् । यो ठाउँ बागलुङको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (ख) मा पर्छ ।
‘कब्जा भएका परिचयपत्र सबै पार्टीमा आस्था राख्ने मतदाताका छन् । यसरी ब्यक्ति नै नभएका परिचयपत्र लगेर स्वस्थ प्रतिश्पर्धा हुनै सक्दैन, नाम नबताउने शर्तमा एक स्थानीयले भने–मृत्यु भैसकेका, बसाईसराई गरेर अन्यत्रै गएका र निर्वाचनमा खटिएका कर्मचारी सबैको परिचयपत्र वाम गठबन्धनले कब्जा गरेको छ । यसको निष्पक्ष छानवीन हुनुपर्छ ।’ उनका अनुसार राजमोबाट निर्वाचित वडाअध्यक्ष भोगिन्द्र प्रसाद थापाले पनि ९२ वटा परिचयपत्र लगेका छन् ।
थापाले भने ५० वटा परिचयपत्र मात्रै लिएको बताए । ‘सबैले लगेपछि बाँकी भएको परिचयपत्र सुरक्षाकर्मीको समन्वयमा मैले लिएको हुँ, उनले भने–भोलि मतदानका बेला लाईनमै सबैको परिचयपत्र उपलब्ध गराउँछु ।’ एकाघरका बाहेक अरु परिचयपत्र लिन नपाउने निर्वाचन आयोगको प्राबधान छ ।
नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका जिल्ला सचिव नवराज पौडेलले २ हजार ३ सय हाराहारीमा परिचयपत्र कब्जा भएको दावी गरेका छन् । निर्वाचनका लागि पर्यवेक्षणमा खटिएका धनप्रसाद पौडेलले पनि परिचयपत्र एउटा समूहले लगेको गुनासो आएकाले आईतबार मात्रै यसबारे थप जानकारी हुने बताए ।
बागलुङका निर्वाचन अधिकारी विकासचन्द्र शर्माले यसबारे आँफुहरुलाई जानकारी भैसकेको बताए । यद्यपी उनले परिचयपत्र कब्जा नभई प्रतिनिधीले लगेको बताएका छन् । ‘यसलाई कब्जा भन्न मिल्दैन । आफन्तका परिचयपत्र लगेको हुनसक्छ, हामी बुझ्दै छौं, उनले भने–त्यस्तो भएपनि परिचयपत्र सबैथोक होईन । नागरिकताले पनि भोट हाल्न मिल्छ ।’
यो क्षेत्र बागलुङमा बढी रोचक प्रतिश्पर्धाको क्षेत्र पनि हो । काँग्रेसबाट राज्यमन्त्री समेत रहेकी पूर्व सांसद चम्पादेवी खड्का उम्मेदवार छिन् भने प्रदेशसभामा पूर्व सांसद प्रकाश शर्मा पौडेलले टिकट पाएका छन् । वाम गठबन्धनबाट प्रतिनिधीसभामा एमालेका सूर्य पाठक र प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा उम्मेदवार छन् ।