फर्किए मुख्यमन्त्री गुरुङ, भन्छन्–‘अर्काको नक्कल गरेर विकास नहुने रहेछ’

पोखरा, असोज १६ ।
सातादिने चीन भ्रमणमा गएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखरा फर्किएका छन् । चीनको हाईनान प्रान्तका गभर्नरको औपचारिक निम्तो मान्न मुख्यमन्त्रीको टोली असोज ९ गते त्यसतर्फ गएको थियो । सोमबार नेपाल फर्किएका उनी मंगलबार पोखरा आईपुगेका हुन् । पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले चीन भ्रमणबाट देखिने गरी कुनैपनि आर्थिक सहायता नल्याएको बताएका छन् । ‘विदेश गएपछि कति पैसा ल्यायो भनेर सोध्छन् । के के सम्झौता भयो भनेर सोध्छन्, उनले भने–तर मैले केही पनि ल्याएको छैन । उनीहरुलाई गण्डकी प्रदेशको बारेमा जानकारी मात्रै गराएको छु । गभर्नरको टोलि पोखरा आएका बेला केही सम्झौता होलान् ।’

विशेषगरी गण्डकी प्रदेश र हाईनान प्रदेश तथा पोखरा महानगर र हाईकावो नगर बीच भगिनी सम्बन्ध स्थापित गर्ने बिषयमा सहमति भएको उनले बताए । यसबाहेक टेक्निकल ईन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरुलाई छात्रबृत्तिमा त्यहाँका कलेज तथा विश्वाविद्यालयमा पढाउने सहमति पनि भएको छ । तर औपचारिक सम्झौता भने पोखरामा नै हुनेछ । त्यसका लागि नोभेम्वर १० र ११ तारिखमा हाईनानका गभर्नर सहितको टोलि पोखरा आउनेछ ।

हाईनानका निजी क्षेत्र र अन्य सरकारी निकायबीच पनि परस्पर सम्बन्ध स्थापित गर्ने गरी छलफल भएको उनले बताए । विशेषगरी अर्गानिक खेती, नेपालको पर्यटन, उर्जा, औषधी कारखानामा उनीहरु लगानीका लागि ईच्छुक देखिएका मुख्यमन्त्री गुरुङले बताए । उनले नेपाल संघीय संरचनामा गएको बिषय समेत चीनमा जानकारी नभएको बताए । ‘नेपालमा पनि प्रदेश छ भनेर उनीहरुलाई जानकारी गरायौं । संघीयतामा गएको कुरा पनि थाहा रहेनछ, उनले भने–हाईनानमा राजनीतिक स्थिरता छ । नेपालमा त्यो नभएर पनि विकास हुन नसकेको मैले महसुश गरें ।’

अरु देशको नक्कल गरेर आफ्नो ठाउँको विकास नहुने उनले बताए । ‘हाईनान पनि ३० बर्ष पहिले नेपालको कर्णाली जस्तै रहेछ । तर उनीहरुले आफ्नो विशेषता पहिल्याएर त्यसैमा लगानी केन्द्रित गरे, उनी भन्छन्–अर्काको नक्कल गरेर विकास हुँदैन भन्ने उदाहरण हामीले देख्यौं । त्यसैले विशेषता पहिल्याएर लगानीको वातावरण तयार गर्ने हाम्रो जोड रहन्छ ।’