प्रदेश ४ को बैठकमा पृथ्वीनारायण शाहको चर्चा

पोखरा, माघ २२ ।
प्रदेश ४ को पहिलो बैठक धेरै हिसावले नौलो रह्यो । नयाँ अनुहारले भरिएको प्रदेशसभाको कार्यशैली पनि नौलै थियो । खारिएका नेताहरु पनि धेरै ठाउँमा अलमलमा परे । सभाहलमा प्रबेशदेखि नेताका भाषणसम्म चर्चाका बिषय भए । कुनै सांसद संघीयताको विरोधमा उत्रिए भने कोही चार्हीं इतिहासको बर्णन गर्नमै मस्त भए । प्रदेशमा मुख्यमन्त्रीका दावेदार पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुबैले एकीकरणका अभियानकर्ता पृथ्वीनारायण शाहलाई सम्झिए । पृथ्वीसुब्बाले सुरुमै नेपाल एकिकरणमा पृथ्वीनारायण शाहको भूमिकाबारे प्रशंसा गरे । भीमसेन थापा र अन्य शहीदहरुलाई सम्झिएर उनले स्वाधिनताको पक्षमा सँधै प्रतिबद्ध रहने बताए । जनकविकेशरी धर्मराज थापा, लोककवि अलि मिया, भूपी शेरचन, लेखनाथ पौडेलसम्म उनको स्मरणमा आईपुगे ।
अर्का नेता किरण गुरुङले पृथ्वीनारायण शाहकै कारण नेपालीले पहिचान पाएका भन्दै इतिहास नमेटिने धारणा राखे । ‘नेपालको एकीकरण यही प्रदेशबाट भएको हो । भाषिक र सांस्कृतिक एकताको सुरुवात यहीँबाट भयो, उनले भने–अव जनताको समृद्ध हुने चाहना पनि हामी पूरा गर्छौं ।’ भाषिक एकिकरण गर्ने भानुभक्त आचार्य, शहीद लखन थापा, २००७ सालको क्रान्तिको क्रममा बन्दीपुरमा शहीद बनेका धर्मध्वज गुरुङ, चित्रबहादुर गुरुङलाई सम्झेपछि उनले विपी कोइराला र गणेशमानको नाम लिए । लमजुङमा जन्मेका कवि माधव घिमिरेलाई उनले शताब्दी पुरुषको संज्ञा दिए । उनले प्रदेशमा सहभागी कुनैपनि दल प्रतिश्पर्धी नभएको भन्दै प्रष्ट योजना सहित सुशासन सहितको प्रदेश बनाउने काममा एकीकृत भएर लाग्ने विश्वास ब्यक्त गरे ।
पृथ्वीसुब्बापछि सम्बोधनमा आएका काँग्रेसका कृष्णचन्द्र नेपालीले लिखित मन्तव्य राख्दै शहीद र अग्रजको नाम दोहोर्याए । उनले कृष्णप्रसाद कोइराला, विपी कोइारालदेखि हलो क्रान्तिका नायकहरुलाई सम्झिए ।