प्रदेश २ को चुनाव तयारी अन्तिम चरणमा

काठमाण्डौं, भदौ २९ ।
स्थानीय तहको तेश्रो चरणमा हुने चुनाव अन्तर्गत प्रदेश नम्बर २ को चुनाव तयारी अन्तिम चरणमा छ । असोज २ गते हुने चुनावका लागि भदौ ३० र ३१ गते मतदातालाई परिचयपत्र वितरण गरिनेछ भने परिचय पत्र लिन आउने मतदातालाई मतदाता शिक्षा पनि दिइनेछ । असोज १ गते नमुना मतदान पनि गराउने तयारी आयोगले गरेको आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार मतपत्र, मतपेटिकालगायतका सम्पूर्ण निर्वाचनका सामग्रीसहित विहिबार बेलुकासम्म सबै कर्मचारी मतदानस्थलमा पुगिसक्नेछन् । आयोगले २ नम्बर प्रदेशका दुई हजार एक सय ६६ मतदानस्थल र तीन हजार पाँच सय ७८ मतदान केन्द्रमा ३१ हजार ५ सय कर्मचारी परिचालन गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।