प्रदेश सभाको पहिलो बैठकमै संघीयताको विरोध

पोखरा, माघ २२ ।
प्रदेश ४ को पहिलो बैठकमै संघीयताको विरोध भएको छ । संघीय संरचना अनुसार निर्वाचित भएर संसद प्रबेश गरेका राष्ट्रिय जनमोर्चाका सांसदले संघीय शासन ब्यवस्थामा आफुहरु असहमत रहेको बताए । बागलुङबाट निर्वाचित भएर आएका जनमोर्चाका सांसद कृष्ण थापाले आफ्नो पार्टीको संघीयता प्रतिको असन्तुष्टी कायमै रहेको धारणा राखे । ‘संघीयताप्रति हाम्रो असहमति छ र यो असहमति यथवात रहन्छ’, बैठकलाई सम्बोधन गर्दै उनले भने–‘संघीयता अहिले हिराको सिक्रिले बाँधेको भालु जस्तो भएको छ । बाँधिराखौं भने महंगो पर्छ, छोडौं भने जनताको बलिदान सकिन्छ ।’
उनले दक्षिण र उत्तरको प्रभावमा नपरी प्रदेश बलियो बनाउन लागि पर्नुपर्ने बताए । थापा नेकपा एमाले र माओवादी केन्द्रसँगको तालमेलबाट चुनाव जित्दै प्रदेश सभामा पुगेका हुन् । जनमोर्चाले गणतन्त्रका पक्षपाती एमाले र माओवादीसँग बागलुङ र प्युठानसहितका जिल्लामा चुनावी तालमेल गरेको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी संघीयता कडा आलोचकमध्ये एक हुन् ।