प्रदेश र केन्द्रको चुनावी कार्यतालिका सार्वजनिक

काठमाण्डौं, भदौ २९ ।
निर्वाचन आयोगले चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । अनुसार मंसिर १० गते पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । यस वर्ष भाइटीका कात्तिक ४ गते परेको छ । अर्थात भाइटीकाको भोलिपल्ट उम्मेदवारी दर्ता हुनेछ ।
यस्तै २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ गते तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर १० र २१ गते गरी दुई चरणमा मतदान हुनेछ ।
यसका लागि राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची भने असोज २९ गते पेश नै गर्नु पर्नेछ । सरकारले प्रत्यक्षतर्फ उम्मेदवारी लिएपछि मात्र समानुपातिको बन्दसूची पेश गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेको थियो । तर, आयोगले पूर्वतयारी अनुसार समानुपातिकको उम्मेदवारको बन्दसूची पेश गरेपछि मात्र प्रत्यक्षको उम्मेदवारी दर्ता राखेको छ ।
कार्यतालिका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलहरुले मगलबारसम्म आयोगमा निवेदन दिनु पर्नेछ । अन्य प्रक्रिया पूरा गरेर ३० गते चुनाव चिन्ह दिइनेछ । असोज २९ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्नु पर्नेछ । दाबीविरोध फिर्ता लगायतका प्रक्रिया पूरा गरेर उम्मेदवारहरुको अन्तिम सूची भने मंसिर ३ गते मात्र प्रकाशित गरिनेछ ।
२१ गते हुने दोस्रो चरणको चुनावको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता कात्तिक १६ गते राखिएको छ । उजुरी, दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर १९ गते चुनाव चिन्ह दिइनेछ ।