प्रदेशसभामा मनाङे–सभामुखलाई भेटे, मुख्यमन्त्रीसँग कफी पिए

पोखरा, पुस २३ ।
घ्यु कलरको थ्रि पिस सुट, कालो चस्मा र सुहाउँदो सुज । स्कारपियो गाडीमा हुईंकिएर तीनजना अपरिचित ब्यक्ति विहान १० बजेतिर गण्डकी प्रदेशसभा परिसर छिरे । राजीव गुरुङ उर्फ दीपक मनाङे, साथमा थिए गाडी चालक र अर्का एक उनकै सहयोगी । निर्वाचित भएपछि पहिलो पटक प्रदेशसभामा छिरेकोले उनलाई धेरैले चिनेनन् ।

केहीबेर कर्मचारीहरु नयाँ अनुहार देखेर अलमलमा परे । उनी सीधै उपसभामुखको कोठामा छिरे । केहीबेर त्यहीँ बसे । अर्कोपट्टी सभामुख र उपसभामुख छलफल गर्दै थिए । केहीबेरमा मनाङेलाई लिन आए प्रदेशसभाका सचिव शम्भुबहादुर खड्का । यतिबेलासम्म गाईंगुईं भैसकेको थियो राजीव गुरुङ प्रदेशसभामा आएको भनेर ।

सभामुखसँग पौने घण्टाजति बातचित गरेपछि बाहिरिएर उनले मिडियासँग प्रतिक्रिया राखे । त्यहाँबाट निस्किएका उनी २ बज्न नपाउँदै पुनः फर्किए । मनाङ प्रदेशसभा (ख) बाट निर्वाचित भएका उनले सपथ लिन नपाएपनि सोमबार दिनैभरी प्रदेशसभामा विताए । कहिले सभामुखसँग भेटघाट गरे त कहिले क्यान्टिनमा बसेर कफी पिए ।

संसदको तेश्रो अधिवेशनको पहिलो बैठक २० मिनेटका लागि स्थगीत भएको थियो । सांसदहरु कोही चिया पिउन लागे, कोही आपसमा कुराकानी गर्दै थिए । राजीव मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आडमा पुगे । ५ मिनेटसम्म मुख्यमन्त्रीले नयाँशक्तिका हरिशरण आचार्यसँग कुरा गरे । राजीव आडमै थिए तर बोलेनन् ।

हरिशरणसँग कुरा सक्ने वित्तिकै राजीवले मुख्यमन्त्रीलाई नमस्कार गरे । दुबैले हात मिलाए । अनि क्यान्टिन तिर लागे । नेकपाकै अर्का सांसद राजीव पहारी मिडियटर जस्तो देखिन्थे । त्यसपछि एक हुल क्यान्टिन पुगे । चिया अर्डर भयो, मुख्यमन्त्रीले कालो चिया पिए । राजीव गुरुङले चाहीँ ब्ल्याक कफी मगाए । उनको ब्ल्याक कफी नआउँदै संसदको घण्टी बज्यो, मुख्यमन्त्री सदन छिरे । राजीव गुरुङ चाहीँ पत्रकार र अन्य ब्यक्तिसँग बसेर कफी पिउन लागे ।

उनलाई सपथबारे केही निर्णय आउने आसा थियो । तर त्यस्तो भएन । सदन सकिएपछि सबै सांसदहरु निस्किए । राजीव अन्तिमसम्म पनि क्यान्टिनमै बसिरहेका थिए ।

मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभामा विजयी बनेका हुन् । चुनाव जिते पनि उनले प्रदेशसभा सदस्यको सपथ भने गर्न पाएका छैनन् । भेटघाटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मनाङेले आफूले पहिलो पटक मूख्यमन्त्रीलाई भेटेको बताए ।

‘पहिला दुई पटक टेलिफोनमा कुरा भएको थियो’ उनले भने, ‘आज पहिलो पटक भेट भयो ।’ उनले सभामुख नेत्रनाथ अधिकारीसँग पनि भेटेर आफुँलाई सपथ गराउनुपर्ने माग राखे । सभामुख पनि आफ्नो मागमा सकारात्मक रहेको उनले सुनाए । सपथ नभए अन्तराष्ट्रिय अदालत पुग्ने उनको चेतावनी छ । मुख्यमन्त्रीले चाहीँ सपथका बारेमा केही बोलेनन् ।

सभामुख नेत्रनाथ अधिकारीले मंगलबार २ बजेसम्मको समय दिएको बताए । आइतबार कार्यब्यवस्था परामर्श समितिको छलफल पछि उनले तत्काल सपथ गराउन नसक्ने बताएका थिए । तर भोलिपल्टै सोमबार चाहीँ अन्तिम निर्णय नभएको बताए ।

‘लिखित निर्णय दिएको छैन । भोलि २ बजेसम्म निर्णय दिउँला, त्यतिञ्जेलसम्म कुर्नुस भनेको छु, उनले भने–भोलि मात्रै अन्तिम निर्णय हुन्छ ।’ मनाङेलाई सपथ गराउने वा नगराउने भन्ने बारे उनले खुलाएनन् ।