प्रदेशको राजधानीमा सांसदको ‘एकै स्वर’–मेरो दिल छ पोखरामा

प्रकाश ढकाल
पोखरा, असार १७ ।
प्रदेश ४ को राजधानीका बिषयमा प्रदेशका सबै सांसदले पोखरालाई समर्थन गरेका छन् । स्थायी राजधानी र नामका लागि सिफारिस गर्न गठित सुझाव संकलन समितिले पेश गरेको प्रश्तावमाथी छलफलमा सहभागी सांसदहरुले पोखरा राजधानी निर्विवाद भएको बताए । एमालेका सांसद मायानाथ अधिकारीले पोखरा प्रश्ताव नै एकल भएकोले यसलाई समर्थन गर्दा न्याय हुने बताए । ‘पोखरा हिजैदेखि सर्वस्विकार्य छ । विकासक्षेत्र देखि नै सदरमुकाम बनेको हो, उनले भने–संरचना पनि पर्याप्त छन् । सवै हिसावले यो भन्दा उत्तम विकल्प भेटिँदैन ।’

काँग्रेसका विष्णप्रसाद लामिछानेले प्रदेश गठन हुँदैमा पोखरा स्थायी राजधानी बनिसकेको बताए । ‘मुलुक संघीयतामा गएपछि प्रदेश ४ ले निर्विवादित राजधानी पाईसकेको छ । भूगोल, संस्कृति, संरचना र ब्यापारिक केन्द्रका आधारमा पनि पोखरा उपयुक्त छ, उनले भने–सबै जिल्ला बासिले स्विकार गरेको ठाउँलाई हामीले समर्थन गर्नु आवश्यक छ ।’

माओवादीका रामजी बराल पनि पोखरासँग सबैको पहिचान जोडिएकोले राजधानीका लागि अरु ठाउँ खोज्नुनपर्ने बताउँछन् । ‘पोखराले पूरै प्रदेशका ११ वटै जिल्ला समेट्छ । राजधानी पोखरा तोक्नु बस्तुनिष्ठ छ, उनी भन्छन्–तर पोखराको सुन्दरता जोगाउने चुनौति पनि सँगै थपिएको छ । यसतर्फ पनि सचेत हुनुपर्छ ।’

नयाँ शक्तिका हरिशरण आचार्यले लामो समयसम्म छलफल भैसकेकोले सदनमा थप छलफल आवश्यक नपरेको बताए । ‘हिजोको केन्द्रिकृत शासन ब्यवस्था ढलाउनु छ । पोखरा पोखराभित्रै नहराओस्, उनले भने–भुगोल, ब्यापार, सुन्दरताले पनि पोखरा केन्द्रमा छ । त्यसैले प्रमोद खरेलको जस्तै मेरो दिल छ पोखरामा ।’

एमालेका सांसद धनन्जय दवाडीले पोखरालाई कसारको डल्लाको संज्ञा दिए । ‘कसारको डल्लोमा गुदी कतिबेला आउँछ ?, प्रश्न गर्दै उनले अघि भने–पोखरा कसारको डल्लो जस्तै हो । कसारजस्तै जताततै गुदी छ पोखरामा ।’ सांसद ललितकला गुरुङ, दीपक कोइराला, इन्द्रलाल सापकोटा, दीपक चर्तीमगर, सरिता गुरुङ, मीन प्रसाद गुरुङ, प्रभा कोइराला, मधुमाया अधिकारी, राजीव पहारी, पुष्पा केसी भण्डारी, कुमार खड्का लगायतले आफ्नो धारणा राखे ।

सुझाव संकलन समितिका संयोजक विन्दुकुमार थापाले ९३ प्रतिशतले पोखरालाई समर्थन गरेको तथ्याकं प्रश्तुत गरे । ‘सात सय एकाउन्नमध्ये सात सय पाँच जनाले पोखरालाई समर्थन गरेका छन्, उनले भने–यो समर्थनलाई सामान्य मान्नु हुँदैन । अव ग्रेटर पोखराको अवधारणा विकास गर्नुपर्छ ।’

यसअघि गत चैत १२ गतेको प्रदेशसभा बैठकले प्रदेशको नाम र स्थायी राजधानीको लागि ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो। समितिले ७० दिनपछि प्रदेशको नाम र राजधानीबारे जेठ २१ गते प्रतिवेदन बुझाएको थियो। असार १० गते प्रदेशसभामा टेबुल भएको प्रतिवेदनमाथि असार १७ गतेदेखि छलफल सुरु भएको हो । राजधानीको विषयमा अन्य प्रदेशको तुलनामा निर्विवाद देखिएको प्रदेश ४ को राजधानी पोखरा हुने निश्चित जस्तै देखिएको छ। राजधानी तोक्न दुई तिहाई बहुमत आवश्यक देखिएतापनि राजधानीको विषयमा भने सर्वसहमति हुने देखिएको छ ।