प्रदेशका कर्मचारी बाटैमा गायव !
प्रकाश ढकाल
पोखरा, फागुन ११ ।
नयाँ संरचना अनुसार प्रदेश मन्त्रालयहरु सञ्चालनमा आउनुअघि नै सरकारले प्रदेशमा चाहिने कर्मचारी खटाईसकेको छ । मन्त्रालय तोकेर अरु कार्यालयबाट कर्मचारीलाई प्रदेशको मन्त्रालयमा पठाईएपनि अधिकांश बाटैबाट बेपत्ता भएका छन् । प्रदेशको मन्त्रिपरिषद् नै गठन भैसक्दा समेत कर्मचारी हाजिर नहुँदा दैनिक काम गर्नै समस्या देखिएको छ । नियुक्ति पाएका कर्मचारी हाजिर हुन नआउँदा काम अघि नबढेको प्रदेशका सचिवहरु बताउँछन् । कर्मचारीहरुमा केन्द्रीकृत मानसिकता बढी भएकाले नियुक्ति पाएर पनि कार्यस्थलमा हाजिर हुन अबेर गरेको उनीहरु सुनाउँछन् । सामान्य प्रशासन मन्त्रालयले प्रदेश ४ का लागि २ सय २० जनाको अस्थायी दरबन्दी सिर्जना गरेको छ । पहिलो चरणमा १ सय ३७ जना कर्मचारी खटाईएको भएपनि हालसम्म ९८ जनामात्रै काममा हाजिर भएका छन् । ३९ कर्मचारी तोकिएका मन्त्रालयमा हाजिर भएका छैनन्, नत पूरानो कार्यालयमा नै छन् । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा खटाईएका कर्मचारीहरुले बढी हेलचेक्र्याईँ गरेका छन् । यो मन्त्रालयमा २९ जनाको दरबन्दी छ । तत्कालका लागि १८ जना मात्रै खटाईएको छ । तर आधाभन्दा बढी कर्मचारी अझैसम्म हाजिर भएका छैनन् । ७ जना मात्रै हाजिर भएका र ११ जना अहिलेसम्म सम्पर्कमा नआएका मन्त्रालयले जनाएको छ ।
कर्मचारी उपस्थित नहुँदा दैनिक काम गर्न कठिनाई भएको मन्त्री लेखबहादुर थापाले बताए । ‘केही साथीहरु आउने क्रममा हुनुहुन्छ । धेरैजना अझै सम्पर्कमा हुनुहुन्न, उनले भने–कर्मचारी नहुँदा दैनिक कार्य पनि रोकिने अवस्था छ । अब तुरुन्तै बोलाएर काममा लगाउछौं ।’ सबैभन्दा पहिले सञ्चालनमा आएको प्रदेश प्रमुखको कार्यालयमा अझै २ जना कर्मचारी आईपुगेका छैनन् । १८ दरबन्दी रहेको यो कार्यालयमा १७ जना खटाईसकेको छ । २१ दरबन्दी रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा १६ जना मात्रै खटाईएको छ । त्यसमध्ये पनि २ जना अहिलेसम्म हाजिर भएका छैनन् । सबैभन्दा बढी ३० दरबन्दी रहेको सामाजिक विकास मन्त्रालयमा पहिलो चरणमा १६ कर्मचारी खटाईएको छ । तिमध्ये ९ जना हाजिर भएका छन् भने ७ जना अझै आएका छैनन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका ९, भौतिक पूर्वाधार विकास मन्त्रालयका ८, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका १÷१ जना कर्मचारी हाजिर भएका छैनन् । प्रदेशसभाका लागि खटाईएका कर्मचारी भने सबै हाजिर भैसकेका छन् । प्रदेशसभामा २८ जनाको दरबन्दी छ । तर ८ जना मात्रै खटाईएकोमा सबैजना आईसकेका प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिए ।
कर्मचारीलाई बारम्बार ताकेता गरिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव झलकराम सुवेदीले जानकारी दिए । ‘मन्त्रीपरिषद् भर्खरै गठन भएको छ । अब यसको ब्यवस्थापनमा सबै शक्ति केन्द्रित हुनुपर्छ, उनले भने–कार्यालयगत कामको चाप नभएपनि ब्यवस्थापकीय चाप बढी छ । कर्मचारीले हेलचेक्र्याईँ गर्नुहुन्न ।’ दिनदिनै कर्मचारीहरु आउने क्रम जारी रहेपनि चासोका साथ आफ्नो कार्य जिम्मेवारी लिन सकेका छैनन् । खटाएका कर्मचारीहरु फिल्डमा जान आनाकानी गरिरहेका छन् । सामान्य प्रशासन मन्त्रालयले सात वटा प्रदेशमा तत्कालका लागि १ हजार ५ सय कर्मचारी पठाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट पास गराएको छ । ९ सय ८३ कर्मचारीलाई प्रदेश कार्यालयमा हाजिर हुन निर्देशन गरिसकेको छ । तर तीमध्ये आधाजसो कर्मचारीमात्रै तोकिएका कार्यालयमा हाजिर भएका छन् । प्रधानमन्त्री केपीशर्मा ओलीले पनि कार्यभार सम्हालेकै दिन खटाईएका कर्मचारीहरुलाई तुरुन्तै काममा हाजिर हुन निर्देशन गरेका छन् । उनले तोकिएकै समयभित्र हाजिर नभए जागिरबाटै निकाल्ने चेतावनी समेत दिएका छन् । आउँदो मंगलबारसम्म कार्यक्षेत्रमा हाजिर नहुने कर्मचारीलाई निजामति सेवा ऐन अनुसार कारबाही प्रक्रिया अगाडी बढाउने सामान्य प्रशासन मन्त्रालयका प्रबक्ता शिवराम न्यौपानेले जानकारी दिए ।