प्रचण्डले किन छाडे लाजिम्पाट ? (यस्ता छन् कारण)

काठमाडौं, पुस १ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नयाँ घर सरेका छन् । सुरुदेखि नै पार्टी्भित्र र बाहिर निकै विवादित बनेको लाजिम्पाटस्थित निवास छोडेका हुन् ।
नयाँ बजारबाट लाजिमपाटी सरेदेखि नै पार्टी बैठकदेखि प्रशिक्षणमा नेता–कार्यकर्ताले घर किनेको भन्दै चर्को आलोचना गरेका थिए । प्रचण्डले उक्त घर नकिनेको भन्दै छोड्ने पटक पटक बताउँदै आएका थिए तर छोडेका थिएनन् । प्रचण्डले आलोचना खप्न नसकेर धेरै कार्यक्रममा त मिति नै तोकेर छोड्ने समेत वचन दिएका थिए ।
चुनावको सबै परिणाम आएसँगै प्रचण्ड नयाँ घर सरेका छन् । हिजो (मंसिर २९) शुक्रबार प्रचण्ड ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारस्थित सुविधा सम्पन्न घरमा सरेका छन् ।

लाजिमपाट छोड्नुका तीन कारण

१. हालै छोरा प्रकाश दाहालको मृत्युसँगै आमा सिता दाहालले लाजिमपाट छोड्नु पर्ने बताउँदै आएकी थिइन् । प्रचण्ड सचिवालयका एक सदस्यका अनुसार सिता दाहालले राति सपना देख्ने र दिउँसोमा एक्लै हुँदा प्रकाश आएजस्तै लाग्ने गरेको बताउँदै आएकी थिइन् । प्रकाश निधनले परिवारलाई पारेको पीडा भुलाउन पनि लाजिमपाट छोडिएको हो ।

२. बसाईको सुरुदेखि नै विवादित बनेको घर भएका कारण प्रचण्डले पनि पहिलै राजिमपाट छोड्न चाहेका थिए । तर कहाँ र कसरी सर्ने, नयाँ घर पनि विवाद आउने डरले थप आलोजना हुने डरले लाजिमपाट छोडिएको थिएन ।

लाजिमपाट किनेको भन्ने आरोपबाट प्रचण्ड मुक्त हुन चाहन्थे । लाजिमपाटको उक्त घर प्रचण्डले किनेको तर कागजी रुपमा मात्रै अरुको नाममा गरिएको भन्ने अरोप लाग्दै आएको थियो । लाजिमपाट किनेको होइन भन्ने प्रचण्ड कुनै न कुनै समयमा देखउन चाहन्थे । त्यो साइत यतिबेला जुरेको हो ।

३. जनयुद्धमा रोल्पा, रुकुमका जनताको घर भन्दा नयाँ बजारको घर ठूलो र नयाँ बजारको भन्दा ठूलो भएपनि प्रचण्डको दैनिक भेटघाट, सचिवालय र सुरक्षाकर्मीको संख्याले लाजिमपाट सानो हुँदै गएको थियो । पार्किङदेखि विहानको मार्निङवाकको लागि लाजिमपाटको कम्पाण्ड सानो भएकै हो ।

अझ पार्टी एकतापछि हुने जमघटलाई लाजिमपाटले धान्न नसक्ने भएका कारण नयाँ घर सर्नु परेको बताइएको छ ।

शुक्रबार अजय समार्गीको घरमा भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि प्रचण्ड सिधै खुमलटारस्थित नयाँ घर गएका थिए । लाजिमपाटबाट सामान सार्न केही दिन लाग्ने भएकाले पूर्णरुपमा भने छोडिएको छैन । सुरक्षाकर्मीसहित सचिवालयका केही सदस्य लाजिमपाटमै बसेका छन् । नयाँ घर लाजिमपाट भन्दा धेरै सुविधा सम्पन्न भएको बताइएको छ ।