पोखरा-मुग्लीन सडकमा कालोपत्रे सुरु

पोखरा, जेठ २१ ।
पृथ्वी राजमार्गको पोखरा–मुग्लीन सडकमा कालोपत्रे सुरु गरिएको छ । स्तरोन्तीको चरणमा रहेको दुई खण्डमध्ये आँबुखैरेनी जामुनेमा पीच गर्न थालिएको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्रेको काम सुरु भएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार चार लेनमा सडक कालोपत्रे सुरु भएको हो ।

असार मसान्तभित्र ७ किलोमिटर सडक कालोपत्रे भैसक्ने सुवेदीको भनाई छ । त्यस बाहेक अन्य क्षेत्रमा सडक कटानदेखि टेवा पर्खाल र खाल्डा पुर्ने काम भैरहेको छ ।

पूर्वी खण्डको निर्माणका लागि २०७७ माघ १७ मा सम्झौता भएको थियो । साढे ४१ किलोमिटरको यो खण्डमा सानाठूला ७ वटा पुल निर्माण हुनेछ भने बैशाख २०८१ मा काम सम्पन्न गर्नुपर्ने म्याद छ ।