पोखरा महानगरले भत्कायो मापदण्ड विपरित बनेको घर, स्थानीय र जनप्रतिनिधिबीच लफडा
पोखरा, चैत ११ ।
पोखरा महानगरपालिकाले मापदण्ड विपरित बनेको घर भत्काएको छ । सोमबार पोखरा ५ धारापानी मार्गमा रहेको यूवराज खतिवडाको घर भत्काईएको हो । सार्वजनिक जग्गा मिचेर घर बनाएकोले भत्काउन बाध्य भएको महानगरले जनाएको छ ।
वडा सदस्य अञ्जु केसीसँगको टकरावका कारण महानगरले अन्याय गरेको केही स्थानीयको आरोप छ भने महानगरले चाहीँ मापदण्ड विपरित बनेका घरहरु त्यसै नछोड्ने बताएको छ । केही समयअघि खतिवडा र केसी बीच वाकयुद्ध जस्तै चलेको थियो ।
तर महानगरले मापदण्ड विपरित बनेकोले घर भत्काउन खतिवडालाई पत्राचार गरिसकेको छ । पत्राचार गरिएको समयमा घर नभत्काएकोले महानगरले आँफै भत्काउनुपरेको प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले बताए ।
कानुन सबैलाई समान भएकोले पहुँचका भरमा कसैले पनि सार्वजनिक सम्पत्ति दुरुपयोग गर्न नपाउने उनको भनाई छ । घरधनी खतिवडा चाहीँ आँफुले किनेको जग्गामा घर बनाएको भन्दै रिसिईवीका कारण महानगर आँफुमाथी खनिएको गुनासो गरेका छन् ।
घर भत्काउन पुग्दा स्थानीय, प्रहरी र जनप्रतिनीहरुबीच भनाभन समेत भएको थियो । वडा प्रहरी कार्यालय बैदाम, नगर प्रहरी सहितको उपस्थितिमा उनको घर भत्काईएको हो ।