पोखरालाई बर्षमै २ अर्वको खसीबोका

प्रकाश ढकाल
पोखरा, असोज ६ ।
पोखरामा बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङ्ग्र विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेडा च्याङ्ग्रा बेचिन्छन् । मूल्य हिसाव गर्दा बर्षमा पुगनपुग २ अर्ब खसीबोका र भेडाच्याङ्ग्राको मासुमा खर्च हुन्छ । पोखरामा खपत हुनेमध्ये ३० प्रतिशत भन्दा बढी खसीबोका भारतबाट आयात गरिन्छन् । बर्षमै करिब ५० करोड रुपैयाँ पोखराले मासुका लागि भारत पठाउँछ । पोखरा आसपासमा खसीबोका पाल्ने किसान नभएकै कारण भारतबाट भित्र्याउनुपर्ने बाध्यता रहेको खसीबोका ब्यवसायी संघ कास्कीका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ बताउँछन् ।
‘पेरिफेरीबाट पोखरामा खसीबोका खासै आउँदैनन् । कास्की पर्वत तिरका किसानले किसानी गर्नै छोडिसके, उनले भने–भारतको माल नझारे पोखराको माग धान्न सक्दैनौं । यो हाम्रो बाध्यता भैसक्यो ।’ श्रेष्ठका अनुसार पछिल्लो समय पोखरामा मासुको माग बढ्दै गएको छ । दिनहु हुने बसाईसराई र मासु संस्कारको विकास भएकै कारण खपत पनि बढी भएको उनको भनाई छ । पोखरामा भारत सहित पश्चिम नेपालका दाङ, सुर्खेत, गुलरिया, बर्दिया, धनगडी, नेपालगञ्ज लगाएतका जिल्लाबाट खसीबोका आयात भैरहेको छ । भारतबाट मासु आयात गर्नुपर्ने भएपनि सकेसम्म स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिने गरेको श्रेष्ठले बताए । ‘दशैंका बेला मुस्ताङका भेडाच्याङ्ग्रा बढी बेचुन् भन्ने हाम्रो चाहाना छ । त्यसैले च्याङ्ग्राको उत्पादनलाई हेरेर खसीबोका भित्र्याउँछौं, उनले थपे–किसानलाई मार पार्नु हुँदैन । सरकारको ध्यान नेपालमै किसानी बढाउने तिर जानुपर्छ ।’
ठूला चाडपर्व नजिकिएपछि पोखराको बजारमा भेडाच्याङ्ग्रा र खसीबोका धमाधम भित्रिन थालेका छन् । बिशेषगरी दशैंमा मासुजन्य बस्तुको ब्यापार बढी हुन्छ । यो बर्षको दशैँका लागि पोखरामा २५ हजार च्याङ्ग्रा भित्रिनेछन् भने १३ हजारको हाराहारीमा खसीबोका भित्रिन्छन् । ब्यापारीहरुले मुस्ताङ लगाएतका हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याएका हुन् । पोखरा सहित आसपासका क्षेत्रलाई लक्षित गरी अघिल्लो बर्षभन्दा ४ हजार बढी च्याङ्ग्रा पोखरा भित्रिने अनुमान छ । दशैंमा अत्यधिक खोजि हुने हिमाली क्षेत्रका च्यांग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँछन् । ‘पोखरामा च्याङ्ग्रा संस्कार बढेको छ । बर्षभरिमा एक महिना मात्रै आउने भएकाले पनि यसतर्फ उपभोक्ता लोभिन्छन्, ब्यवसायीहरु भन्छन्–हिमाली जडिबुटी खाएर हुर्केका भेडाच्याङ्ग्रा स्वादिलो र स्वास्थ्यलाई पनि फाईदाजनक हुन्छ ।’
पछिल्लो समय च्याङ्ग्रा भनेर भुत्ले खसी बेच्ने गिरोह सक्रिय भएको भन्दै यसले आफ्नो ब्यवसायमा नै समस्या हुन थालेको ब्यापारी ज्यामसेर अलिले बताए । ‘जाजरकोट र दार्चुलामा ८–१० बर्षदेखि नविकेका खसीबोका पोखरा भित्रिन थालेको छ । लामो समय पालेपछि रौं लामा हुने र छिर्केमिर्के भएका कारण च्याङ्ग्रा जस्तै देखिन्छन्, उनले भने–नक्कली च्याङ्ग्राले उपभोक्ता ठगिनुहोला । होसियारी साथ किन्नुहोला ।’ उनका अनुसार पोखरा हुँदै झण्डै ५ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा काठमाण्डौ, चितवन लगाएतका शहरमा पु¥याईन्छन् । मुस्ताङबाट झारिएका च्याङ्ग्रा केही ब्यवसायीले हेमजा ल्याईसकेका छन् भने केही बाटैमा छन् । केही दिनभित्रै पोखरा आईसक्ने ब्यवसायीहरुले बताएका छन् । यो बर्ष प्रति च्याङ्ग्राको मुल्य २५ देखि ३२ हजारसम्म पर्छ । भेडा चाहीँ १९ को हाराहारीमा बिक्रि गर्ने ब्यवसायी बताउँछन् ।
आयात बढ्ने भएपछि पोखरामा खसीबोकाको मूल्य भने खासै फेरबदल भएको छैन । गत बर्ष ४ सय २५ रुपैयाँ प्रति किलो बिक्रि गरेका ब्यवसायीले यो बर्ष पनि उही मुल्यमा बेच्नेछन् । खसीको अवस्था हेरी केही घटबढ हुन सक्ने खसीबोका ब्यवसायी संघ कास्कीले जनाएको छ । ‘चाडबाडमा खसीबोकाको मूल्य बढ्न नदिन हामी दिनरात खटिरहेका छौं । यसले उपभोक्तालाई धेरै राहत गर्नेछ, समितिका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठले भने–यो बर्ष बाख्रा भित्र्याउन पूर्ण प्रतिबन्ध लगाएका छौं । यसले उपभोक्ता झुक्किने सम्भावना पनि कम हुन्छ ।’ दशैँमा मासु बिक्री बढी हुने भएकाले व्यवसायीहरूले कालोबजारी गर्ने गरेका गुनासो यसअघि देखि नै सुनिँदै आएको छ । तर यो बर्ष त्यसलाई पुरै निर्मुल पार्ने तयारी समितिको छ । यो बर्षपनि बिशेष गरी पोखरा खसी बजारबाट खसी बोकाको बिक्री हुनेछ । यसबाहेक कुखुरा, बंगुर र राँगाभैंसी पनि दशैंमा उसैगरी खपत हुनेछन् ।
छनौट कसरी गर्ने
पशु चिकित्सकले मासुका लागि स्वस्थ पशुपंक्षी मात्रै प्रयोग गर्न सुझाव दिएका छन् । आँखा चम्किलो भएको र टाठो चौपाया मात्रै खरिद गर्न उनीहरुको सुझाव छ । बाहिरी क्षेत्र नाक र मुखबाट सिगान र ¥याल बगेको, पातलो दिसा गरी शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमणबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिँजा र खुट्टाको खुरमा घाउ, लरखराउने, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा वा रातो आँखा, छिनछिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुइँ कोट्टयाउने, घरिघरि आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण भएका खसीबोका खरिद गर्न नहुने जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. पुरुषोत्तम त्रिपाठीले बताए ।
कार्यालयले निमोनिया, ज्वरो र डायरियाजस्ता सामान्य तथा खोरेत, पीपीआर, क्षयरोग, रेबिज र घुमाउने रोग लागेका खसीबोकालाई विशेष निगरानीमा राखेर उपचार गर्नेछ । यसमध्ये निमोनिया, ज्वरो र डायरियाबाट प्रभावित भएका खसीबोकालाई उपचारपश्चात् स्वस्थ भएमा पुनः बिक्रीका लागि बजार पठाइनेछ । तर खोरेत, पीपीआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोकालाई विक्री गर्न प्रतिबन्ध लगाईने त्रिपाठीले बताए । यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु सेवन गर्दा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने प्रबल सम्भावना हुने चिकित्सक बताउँछन् ।