पोखरामा रामचन्द्रले भने–हाम्रो उम्मेदवार विन्दु हो, अन्त नहेर्नुहोला

पोखरा, मंसिर १४ ।
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा विन्दुकुमार थापा काँग्रेसको आधिकारिक उम्मेदवार भएकाले मतदाताले रुखभन्दा अन्त भोट नहाल्न आग्रह गरे । बागी उम्मेदवारी परेपछि केही चुनौति थपिएको यो क्षेत्रमा पार्टीको नीति र सिद्धान्त विपरित उम्मेदवारी दिने नरेशशंकर पालिखेलाई मतदान नगर्न उनको आग्रह छ ।
‘हाम्रो आधिकारिक उम्मेदवार विन्दुकुमार थापा हो । रुखमा भोट हाल्नुस्, यताउति सोच्नै पर्दैन, उनले भने–यो चुनाव जनमतको संग्रह भएकाले बागी र विपक्षीको बहकाउमा नलाग्न तपाईँहरुसँग आग्रह छ । हामीलाई मत दिनुस्, बहुमत सहित सरकार गठन गरेर देशलाई समृद्धी हामी दिन्छौं ।’ पार्टीकै जिम्मेवार ब्यक्तिहरु स्वतन्त्र बनेर उम्मेदवारी दिएपनि कसैको पछि लाग्नु नहुने उनको तर्क छ । पौडेलले चारवटै रुख चिह्नमा मत दिएर काँग्रेसलाई जिताउन आग्रह गरे ।
थापालाई अरु नेताहरुले पनि सघाउन आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आधिकारिक उम्मेदवारलाई भोट हाल्न र पार्टीको सिद्धान्त विपरित काम गर्नेलाई मत नदिन आग्रह गरे ।