पोखरामा महानगरले बढाएको कर बृद्धीको उद्योग बाणिज्य संघले गर्यो विरोध

पोखरा, भदौ १ ।
पोखरा उद्योग वाणिज्य संघले एकिकृत सम्पत्ति करमा गरिएको भारी बृद्धिप्रति असन्तुष्टी जाहेर गरेको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ज्ञापन–पत्र बुझाउँदै जिल्ला मालपोत कार्यालयको हवाला दिँदै एकिकृत सम्पत्ति करको महलमा भारी कर बृद्धि गरेकोमा असन्तुष्टी जाहेर गरेको हो ।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइराला र संघका अध्यक्ष विश्वशंकर पालिखेले करमा भएको बृद्धिले सर्वसाधारणलाई मर्का परेको बारे मौखिक जानकारी गराएको स्मरण गराउँदै त्यसको सुनुवाई नभएकोमा दुःख प्रकट गरेको छ । पोखरा उद्योग वाणिज्य संघले एकिकृत सम्पत्ति कर लगायतका कर र शुल्क वैज्ञानिक आधारमा निर्धारणको लागि स्थानीय स्वायत्त शासन नियमावली अनुरुप सम्बन्धित क्षेत्रका विज्ञसहितको मूल्याङ्कन समिति गठन गरी करको दर निर्धारण गर्न पनि महानगरलाई सुझाएको छ ।

यसैगरी, संघले तत्कालीन पोखरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७२–०७३ मा एकिकृत सम्पत्ति कर लागु गर्ने बेला ५ बर्षसम्म कर नबढाउने नीति अख्तियारी गरेको भन्दै सोही निर्णय कार्यान्वयन गर्न माग गरिएको छ ।